अहमदाबाद: प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी २८ जुलाईको दिन गान्धीनगरस्थित महात्मा मन्दिरमा ‘सेमिकन इण्डिया-२०२३’ को उद्घाटन गर्नेछन्। सेमिकन्डक्टर क्षेत्रलाई तीव्रता दिने उद्देश्यले केन्द्रीय इलेक्ट्रनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्रालयले आयोजना गरिरहेको उक्त तीन दिवसीय कार्यक्रमको समापन आगामी ३० जुलाईको दिन हुनेछ। सूचना एवं जनसम्पर्क विभाग अनुसार प्रदर्शनीमा आगन्तुकहरूलाई सेमिकन्डक्टर उद्योगमा प्रयोग गरिने अत्याधुनिक प्रौद्योगिकी एवं नवोन्मेषणको बारेमा विस्तृत जानकारी दिइनेछ। प्रदर्शनीमा इन्जिनियरिङ, डिप्लोमा एवं अन्य विभागका विद्यार्थीहरूले सेमिकन्डक्टर उत्पादनको बारेमा जानकारी तथा यस क्षेत्रमा करियर निर्माणको लागि उपयोगी विशेष जानकारी हासिल गर्ने सर्वश्रेष्ठ अवसर पाउनेछन्।
कार्यक्रममा रेल, इलेक्ट्रनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णव, विदेश मन्त्री एस. जयशंकर र इलेक्ट्रनिक्स एवं सूचना प्रौद्योगिकी र कौशल विकास एवं उद्यमिता राज्यमन्त्री राजीव चन्द्रशेखर उपस्थित रहनेछन्। यस अतिरिक्त अग्रणी सेमिकन्डक्टर इण्डस्ट्रीजका प्रमुखहरू पनि कार्यक्रममा सामेल हुनेछन्। उद्घाटन सत्रमा भारतमा सेमिकन्डक्टर क्षेत्रमा उपलब्ध निवेशका अवसरहरूसित सम्बन्धित प्रेजेन्टेशन प्रस्तुत गरिनेछ। यस क्षेत्रसित जोड़िएका विशेषज्ञहरूद्वारा प्यानल चर्चा पनि गरिनेछ। यो एक राष्ट्रिय स्तरको कार्यक्रम हो जसमा भाग लिने सेमिकन्डक्टर उद्योगहरूलाई नेटवर्किङ्ग, टेक्नोलजी प्रदर्शनी र व्यापारका अवसरहरूको लाभ मिल्नेछ। सेमिकन इण्डिया भारत एवं गुजरातको सेमिकन्डक्टर उद्योगमा नवाचार, सहभागिता तथा विकासको लागि एक महत्वपूर्ण इभेन्ट साबित हुनेछ।
यस तीन दिवसीय कार्यक्रममा दुनियाँभरिका सेमिकन्डक्टर चिप, डिस्प्ले फ्याब, चिप डिजाइन अनि असेम्बली क्षेत्रका अनुभवी विशेषज्ञहरूले भारतमा यस क्षेत्रमा नयाँ अवसरहरूलाई लिएर आफ्नो अनुभव र विचार प्रस्तुत गर्नेछन्। कार्यक्रममा फक्सकन, माइक्रोन, एएमडी, आईबीएम, मार्वल, वेदान्ता, एलएएम रिसर्च, एनएक्सपी सेमिकन्डक्टर्स, एसटी माइक्रो इलेक्ट्रनिक्स, ग्रान्टवुड टेक्नोलजिज, इन्फीनियोन टेक्नोलजीज र एप्लाइड म्याटेरियल्स सहित यस क्षेत्रसित सम्बन्धित अन्य चर्चित कम्पनीहरूले भाग लिनेछन्। -हिस









