कालचिनीः जिल्ला अस्पतालको ब्लड ब्याङ्कमा रगतको अभावलाई ध्यानमा राख्दै आइतबार अलिपुरद्वार जिल्ला प्रेस क्लबको आयोजनामा अलिपुरद्वार इन्डोर स्टेडियममा स्वेच्छा रक्तदान शिविर सम्पन्न भयो। सो शिविरको उद्घाटन अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक आईपीएस वाई. रघुवंशी लगायत बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवान, अलिपुरद्वार महकुमा शासक विप्लव सरकार नवनिर्वाचित राज्यसभा सांसद प्रकासचीक बडाईक, जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा एवम् वरिष्ठ पत्रकार रमेन दे साथै जिल्लाका पत्रकारहरूको उपस्थिति रहेको थियो।
पत्रकारिता एउटा समाजसेवा नै भएकोले मानवीय सम्वेदना र परोपकारी भावनालाई अघि राखेर यो रक्तदान शिविरको आयोजना गरिएको जिल्ला प्रेस क्लबको सदस्य प्रकास मण्डलले जनाएका छन्। आइतबार यसै रक्तदान शिविरमा पत्रकारहरूले कालो ब्याज पनि धारण गरेको थियो। कालो ब्याज धारणको सन्दर्भमा गत तीन दिन अघि मात्र अलिपुरद्वार स्थित उत्तरबंग सम्वादको कार्यालयमा केही तथाकथित पोलिटेकनिक कलेजका विद्यार्थीहरूले तोड़फोड़ गर्दै कार्यालयका कर्मरत पत्रकारहरूलाई हातपात पनि गरेको घटनालाई निन्दा जनाएको पनि प्रकास मण्डलले थप जनाएका छन्।








