गान्तोक: इन्द्रेणी प्रकाशन असमको सह-आयोजनमा अनि गुवाहटीमा अवस्थित कटन विश्वविद्यालयको भाषा, संस्कृति तथा कला केन्द्रद्वारा आयोजित राष्ट्रिय स्तरको कविता समारोह कार्यक्रमको दोस्रो सत्रमा आज सिक्किमका मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। राष्ट्रिय तहको यस समारोहमा असमसँगै सिक्किम, दार्जीलिङ लगायत अन्य स्थानका नेपालीभाषी साहित्यकारहरूको उपस्थिति रहेको थियो।
मुख्य अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले असम सिक्किमको ढुकढुकीमा सधैं जीवित रहेको छ भन्ने मन्तव्य पोखे। हरिभक्त कटुवालको भूमि असममा यसरी आयोजित कार्यक्रममा सहभागी बन्नु पाएकोमा खुशी व्यक्त गर्दै १९२० तिर त्यसताक सिक्किमको राजधानी गान्तोकको लालबजारमा अवस्थित नेपाली विद्यालयमार्फत नेपाली भाषाको विकास, संरक्षण, सम्बर्द्धनमा अतुलनीय भूमिका निर्वाह गर्ने सिक्किमको पहिलो नेपाली भाषाका शिक्षक स्वर्गीय रश्मि प्रसाद आलेको सम्झना गरे। असमको ग्वालपाड़ामा जन्मिएका रश्मि प्रसाद आलेले सिक्किमेली जगतमा नेपाली भाषाको विकासमा शुरुआती जुन कार्य गरे त्यसको कदर गर्दै हाल उनी आरिथाङमा रश्मि प्रसाद आले मार्गको रूपमा अनि सिक्किम प्रज्ञा प्रतिष्ठानद्वारा प्रतिवर्ष प्रदान गरिने रश्मि प्रसाद आले पुरस्कारमार्फत जीवित रहेको खालिङले जानकारी गराए। हाल रश्मि प्रसाद आले परिवार सिक्किमको एक प्रतिष्ठित परिवार रहेको पनि उनले जानकारी गराए। सिक्किम-असमको सम्बन्धबारे बोल्दै खालिङले लीलबहादुर छेत्रीको उपन्यास “बसाईं’’-ले चलचित्रको रूप लिँदा त्यसमा सिक्किमका दुई कलाकार उत्तम प्रधान अनि रञ्जु लामिछानेले अभिनय गरेको स्मरण गरे। यो फिल्म प्रतिष्ठित अस्कर अवार्डको निम्ति मनोनित हुनु असम-सिक्किमसँगै सम्पूर्ण नेपालीभाषीहरूको निम्ति गर्वको विषय रहेको विचार पोखे। यसरी नै सिक्किममा नेपाली भाषासँगै पत्रकारिताको विकासमा असम तेजपुर निवासी अञ्जन उपाध्यायले लगभग दुई दशक अघिदेखि प्रकाशित नेपाली दैनिक पत्रिका हाम्रो प्रजाशक्तिमार्फत पुऱ्याइरहेकोमा योगदानको पनि खालिङले स्मरण गरे। विश्वका महान साहित्यकारहरूले भन्न नसकेका कुराहरू “बा म पाठशाला जान्न, इतिहास पढ़ाइन्छ, त्यहाँ मरेका दिनहरूको…, बनिसकेको बाटोमा हिँड़्नुभन्दा बाटो बनाउँदै हिँड़्नु मन लाग्छ..’’ भन्ने महान विचारको सिर्जन गर्ने हरिभक्त कटुवालका ती भनाइहरूबाट आफू प्रभावित बनेको बताए। साहित्यकारले अस्त-व्यस्त भीड़मा चुपचाप सिर्जनात्मक कार्य गर्ने गरेको उनले विचार पोखे। साहित्यकारहरूले दिएको सिर्जनात्मक कुराहरूले ती भीड़लाई काम लाग्ने कुरा प्रदान गर्छ भन्ने खालिङले मन्तव्य पोखे। आफूपछि भावी पीढ़ीको निम्ति सिर्जना छाड़ेर जानुमै सन्तुष्टि व्यक्त गर्ने उदार कार्य गर्छन् भन्ने उनले बताए।
कार्यक्रममा आयोजक समितिको पक्षबाट मुख्य अतिथि खालिङलाई सम्मान स्वरूप सम्बर्द्धना पत्र अनि स्मृति चिह्न प्रदान गरियो। कार्यक्रममा प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष शेखर खवास अनि सिक्किममा कार्यरत असमकै छोरा पत्रकार प्रकाश अधिकारीले पनि सम्बोधन गरे। उनीहरू दुवैलाई पनि आयोजक समितिको पक्षबाट स्मृति चिह्न प्रदान गरियो।