कोलकाता: हजुरआमाको मुखबाट भूतको कथा धेरैले सुनेको होला तर वास्तविकतामा सायदै कसैले देखेको होला। एउटा यस्तो ठाउँ जहाँ भूत भएको दाबी गरिएको थियो। तर, त्यहाँ भूतबारे कहिल्यै प्रमाणित भएको छैन। भूतको त्रासका कारण ४२ वर्षदेखि सार्वजनिक स्थल बन्द राखिएको थियो। यो पश्चिम बंगालको पुरुलिया जिल्लामा रहेको एउटा रेलवे स्टेशनको कथा हो। यस स्टेशनको नाम बेगुनकोडोर रेलवे स्टेशन हो। यो सन् १९६० मा खोलिएको थियो।
यो स्टेसन खुलेपछि केही वर्ष राम्रोसँग चलिरह्यो तर ७ वर्षपछि मात्रै त्यहाँ केही अनौठो घटना हुन थाल्यो। १९६७ मा, बेगुनकोडोरमा एक रेल कर्मचारीले स्टेशनमा एक महिलाको भूत देखेको दाबी गरे। सोही स्टेशनमा रेल दुर्घटनामा उनको मृत्यु भएको हल्ला पनि चलेको थियो। भोलिपल्ट त्यो रेल कर्मचारीले मानिसहरूलाई यसबारे बताए, तर तिनीहरूले उनको कुरालाई बेवास्ता गरे। रिपोर्टका अनुसार, स्टेशन मास्टरले सेतो साडीमा एउटी महिलालाई रातको अँध्यारोमा ट्र्याकमा हिंडिरहेको देखे। त्यसपछि स्टेशन मास्टर र उनको परिवार रेलवे क्वार्टरमा मृत फेला परेका थिए। यहाँका बासिन्दाले यी मृत्युमा एउटै भूतको हात रहेको दाबी गरेका छन्। यो घटनापछि मानिसहरू यसरी डराउन थाले कि सूर्यास्तपछि कोही पनि यहाँ बस्न चाहँदैनन्। मानिसहरू यति डराए कि बेलुका स्टेशन र वरपरका क्षेत्रहरूबाट भाग्ने गर्थे। यी डरलाग्दो घटनाहरू पछि बेगुनकोडोरलाई प्रेतवाधित रेलवे स्टेशन भनेर चिनिन थाल्यो।
सूर्यास्तपछि यहाँबाट रेल गुज्रदा महिलाको भूतसँगै दौडिने गरेको र कहिले रेलभन्दा छिटो दौडिएर ओभरटेक गर्ने गरेको मानिसहरूले बताएका छन्। यस बाहेक धेरै पटक रेलको अगाडिको ट्र्याकमा नाचिरहेको देखेको दाबी गरिएको छ। स्टेसनमा आउँदा मानिसहरू यति डराए कि ४२ वर्षसम्म स्टेशन बन्द रह्यो अर्थात् ४२ वर्षसम्म यहाँ एउटा पनि रेल रोकिएन। यहाँबाट रेल गुज्र्थ्यो, तर बेगुनकोडोर स्टेशनमा आएपछि यसको गति बढ्यो। तर, सन् २००९ मा तत्कालीन रेलमन्त्री ममता ब्यानर्जी (अहिले मुख्यमन्त्री)ले फेरि यो स्टेसनको उद्घाटन गरिन्।