सिक्किमको उज्ज्वल भविष्य अनि समृद्धशाली सिक्किम निर्माणप्रति कार्यकर्ताहरू समर्पित हुनपर्ने अध्यक्ष थापाको आह्वान
गान्तोक: भारतीय जनतापार्टी, सिक्किम प्रदेश एकाईको नवगठित प्रदेश कार्यकारिणी समितिको पहिलो बैठक आज सिङ्तामस्थित पार्टी कार्यालयमा प्रदेश अध्यक्ष डीआर थापाको उपस्थितिमा सम्पन्न भयो। सभामा नवनियुक्त सल्लाहकारगण, उपाध्यक्षगण, महामन्त्रीलगायतका पदाधिकारीगण, विभिन्न मोर्चा अध्यक्ष, प्रकोष्ठका समन्वयकगण साथै प्रदेश, जिल्ला तथा मण्डलस्तरका पदाधिकारीगण साथै कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सभाको शुरूवातमा पार्टी अध्यक्षको बाहुलीबाट सम्पूर्ण नवनियुक्त पदाधिकारीहरूलाई खदा लगाएर स्वागत एवं अभिनन्दन जनाइयो। नयाँ समतिको पहिलो बैठकले आज सिक्किमसित सम्बन्धित तमाम मुद्दाहरूमाथि चर्चा परिचर्चा गर्दै सबै क्षेत्रहरू समेटेर १५ बुँदे प्रस्ताव पारित गरेको छ। यस प्रस्तावमा सिक्किमको संवैधानिक सुरक्षादेखि लिएर विभिन्न राजनैतिक तथा सामाजिक हक अधिकारका मुद्दाहरू, आईएलपी, रोजगार तथा स्वरोजगार, राज्यमा सुशासन, पारदर्शी एवं भ्रष्टाचारमुक्त व्यवस्थाको स्थापना, युवा तथा महिलाहरूको हक अधिकार, कृषि, पर्यटन तथा सबै क्षेत्रहरूलाई समेट्दै यसप्रति पार्टीको कटिबद्धता जनाइयो। सभामा प्रवक्ता डीआर गिरिले प्रस्तावहरूको पठन गरेका थिए भने विभिन्न पार्टी पदाधिकारी तथा मोर्चाहरूको तर्फबाट प्रस्तावलाई समर्थन जनाएका थिए। समारोहलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीआर थापाले नवगठित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै यो जिम्मेवारी केवल पार्टी स्तरको मात्र नभएर भोलिको सिक्किम कस्तो बनाउने हो, यसको रूपरेखा तयार गर्ने अनि त्यसलाई कार्यान्वयन गर्ने दायित्व पनि रहेको बताए। उनले सबै पदाधिकारीहरूलाई पार्टीको संवैधानिक दायरा अनि अनुशासनभित्र रहेर पार्टीलाई मबजुत बनाउनका साथै सिक्किमको उज्ज्वल भविष्य अनि समृद्धशाली सिक्किम निर्माणप्रति आफूलाई समर्पित गर्नुपर्ने कुरामा जोड़ दिए। आजको सिक्किम विभिन्न समस्याहरूले घेरिएको बताउँदै अध्यक्ष थापाले एकातिर राज्यमाथि हजारौं करोड़को ऋणको बोझ रहेको छ भने विकास अनि रोजगारका अवसरहरू ठप्प रहेको अवगत गराए भने राज्यको बिग्रँदो कानून व्यवस्था, बढ्दो भ्रष्टाचार जस्ता मुद्दाहरूमाथि पनि उपस्थित कार्यकर्ताहरूको ध्यानाकर्षण गराए। यसै गरी विभिन्न राजनैतिक हक अधिकारको निम्ति पनि सिक्किमे जनताले विगत दुई दशकदेखि प्रतीक्षा गरिरहेको बताए। यस्ता सबै समस्याहरूको समाधान र समृद्धशाली सिक्किम निर्माण गर्ने क्षमता अब केवल भारतीय जनता पार्टीमा मात्र रहेको बताउँदै यस विषयलाई जन-जनसम्म पुऱ्याउन आह्वान गरे। आफ्नो सम्बोधनको क्रममा अध्यक्ष थापाले गत महिना भएको पदम गुरुङको शंकास्पद मृत्यु प्रकरणमा सिक्किमको प्रशासन अनि सरकारको कार्वाहीमाथि असन्तुष्टि व्यक्त गर्दै घटनाको मूल जढ़तर्फ नगएर केवल जनताको आँखामा छारो हाल्ने काम मात्र भइरहेको बताए।

उक्त घटनामाथि आफूले वर्तमान मुख्य न्यायाधीशको नेतृत्वमा सशक्त न्यायिक जाँच हुनुपर्ने माग गरे तापनि सरकारले सेवानिवृत्त न्यायाधीशलाई उक्त जिम्मा दिएकोले यसबाट घटनाको सही तथ्य अघि ल्याउन सरकार गम्भीर नरहेको स्पष्ट भएको बताए। उनले स्व. पदम गुरुङ अनि उनको परिवारलाई कुनै पनि हालतमा न्याय दिलाएरै छोड्ने बताए। आजको सभालाई पार्टी महामन्त्रीद्वय भरत दुलाल अनि अर्जुन राईले विभिन्न सांगठनिक विषयमा आफ्नो सम्बोधन राखेका थिए। यस अवसरमा दर्जनौं समाजका प्रतिष्ठित व्यक्तित्व साथै विभिन्न राजनैतिक दलहरू त्यागेर युवाहरूले भारतीय जनता पार्टीमा प्रवेश लिएका थिए।