गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी पञ्चायत सेलको एक समन्वय सभा आज पाकिम जिल्लास्थित सामुदायिक भवनमा सम्पन्न भयो। पाकिम जिल्ला पञ्चायत प्रकोष्ठको पहलमा आयोजित कार्यक्रम नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक एम प्रसाद शर्मा मुख्य अतिथि रहेका थिए। विशेष गरेर पाकिम जिल्लाका जिल्ला पञ्चायत, पञ्चायत र पूर्व पञ्चायतहरूलाई लिएर आयोजना गरिएको यस कार्यक्रमको प्रमुख लक्ष्य र उद्देश्य पञ्चायतहरूलाई सरकारको योजनाबारे जागरुक गराउनु रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक एम प्रसाद शर्माले हाम्रो लक्ष्य भनेको सिक्किम राज्यलाई विकासको गतिमा अघि बढाउनु रहेको बताउँदै सबैजना एक भएमा अवश्य पनि सिक्किमको प्रगति हुने बताए। एसकेएम सरकारको कार्यकालमा पाकिम महकुमादेखि जिल्लाकोरूपमा परिणत भएको अवगत गराउँदै कोभिड संक्रमणकालमा राज्य सरकारले गरेका कार्य उदाहरणीय रहेको बताए। पञ्चायतहरूद्वारा राखिएका केही गुनासोबारे उत्तर दिँदै उनले जनताको प्रतिनिधि भएपछि जनहितमा काम गर्नको निम्ति सरकारसँग मिलेमा अवश्य पनि गर्न सकिने बताए। सरकारका योजनाहरूलाई पञ्चायतहरूले सही ढङ्गमा कार्यान्वयन गर्नुपर्ने उनले आग्रह गरे। उनले जानकारी गराए अनुसार शीघ्र तीन दिवसीय पञ्चायत सम्मेलन आयोजना गरिने छ।

यसै क्रममा आफ्नो सम्बोधनमा आईटी विभागका सल्लाहकार तेञ्जिङ लाम्टाले पार्टी अध्यक्षको अनुमति लिएर यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए। विशेष गरेर यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य उनले विस्तृतरूपमा अवगत गराए। एसकेएम पार्टीले चुनाउको घोषणा पत्रमा उल्लेख गरेका बुँदाहरू बिस्तारै पुरा गर्दै गएको किटान गरे।
एसकेएम पार्टीको सरकार गठन भएपछि राज्यमा पार्टीलेस पञ्चायत चुनाउ सम्पन्न गराउन सफल बनेको उनले दावी गरे। पूर्व सरकारले पञ्चायतहरूलाई दबाउमा राखेर काम गरेको जानकारी गराउँदै एसकेएम पार्टीको सरकार गठन भएपछि पञ्चायतहरूलाई स्वतन्त्रतारूपमा काम गर्ने वातावरण सृजना गरेको पनि उनले थप बताए। सोही प्रकारले जोरथाङ नगर पञ्चायत अध्यक्ष पवित्र मानवले वर्तमान एसकेएम पार्टीका अध्यक्ष एवम् मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम राज्यलाई राम्रो बनाउनको निम्ति धेरै वर्ष सरकारमा राख्नु पर्ने आग्रह गरे। वर्तमान सरकारले सबै जाति, धर्म, भाषा, साहित्यलाई संरक्षण गर्नको साथै सरकारको तर्फबाट हुन सक्ने सबै सहयोग प्रदान गर्दै आइरहेको अवगत गराए। सो कार्यक्रममा पाकिम जिल्लाका पञ्चायत उपाध्यक्ष प्रभा प्रधान लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए। यस अवसरमा वर्तमान पञ्चायत र पूर्व पञ्चायतहरूलाई सम्मान जनाउने कार्य पनि सम्पन्न भएको थियो।