मणिपुर घटनामाथि एसडीएफ चेली मोर्चाद्वारा घोर निन्दा

si-7

गान्तोक: पूर्वोत्तर भारतको मणिपुर राज्य अहिलेघरी साम्प्रदायिक हिंसाको चपेटमा छ। यस हिंसामा सैकड़ौं नागरिकहरूले ज्यान गुमाएका छन् भने ६० हजारभन्दा धेर नागरिकहरू विस्थापित बनेका छन्; सैकड़ौं घर, वाहन अनि सार्वजनिक भवनहरू भत्काइएका छन्। हिंसाको सबैभन्दा बढ्ता पीड़ित महिलाहरू हुनेगरेझैं मणिपुरको हिंसामा महिलाहरू सर्वाधिक पीड़ित बनेको घटनामाथि विपक्षी सिक्किम डेमोक्रेटिक फ्ण्ट पार्टीको चेली मोर्चाले निन्दा गरेको छ। गत ४ मईका दिन मणिपुरको चुड़ाचांदपुर महकुमाको एउटा गाउँमा साम्प्रदायिक सङ्‌घर्षमा मानवता नै लज्जित बनेको एउटा घटना सोशल मीडियामार्फत् प्रकाशमा आएपछि पार्टीले निन्दा गरेको हो। एउटा भिडियोमा बहुसंख्यक समुदायका मानिसहरूले अल्पसंख्यक दुइजना महिलाहरूको सामुहिक बलात्कार गरेको अनि नग्न अवस्थामा बाटोमा डुलाएको भिडियोले सारा देशलाई स्तब्ध र लज्जित बनाएको उल्लेख पार्टीले गरेको छ। यसप्रकारको घटनाले मानवतालाई नै चोट पुर्‍याउनका साथै राष्ट्रलाई नै लज्जित बनाएको चेली मोर्चाको भनाइ छ। यस्तो अमानवीय घटनाप्रति एसडीएफ पार्टी चेली मोर्चाले घोर भर्त्सना गर्ने र नारीहरू प्रतिको यस्तो वीभत्स कुकृत्य सामाजिक सञ्जालमा देख्नपाउनु हाम्रो दुर्भाग्य रहेको ठहर गरेको छ। यी दुइ युवतीहरूमध्ये एउटीले त्यस हिंसामा आफ्नो पिता र दाज्यू पनि गुमाउनु परेको साथै उनको लाचार आमाले गाउँ छाड़ेर भाग्नुपरेको घटनामाथि दुख जनाएको छ। मणिपुरको साम्प्रदायिक हिंसामा घर छोड्न बाध्य बनेका अनेकौं आमाहरू र वीभत्स कुकृत्यका शिकार बनेका दुइ युवतीहरूलगायत हिंसाका शिकार बनेका हरेक नागरिकले न्याय पाउनुपर्ने माग एसडीएफको छ। देशका राष्ट्रपति, प्रधान मन्त्री तथा गृहमन्त्रालयले कुकृत्य गर्ने अपराधीहरूलाई सख्त कानुनी कारवाही गरिदिया जावोस्‌ भन्ने माग गरेको छ। मणिपुरको साम्प्रदायिक द्वन्द्वको समाधानका निम्ति केन्द्र सरकारले अविलम्ब ठोस कदम चालिदिने माग पनि चेली मोर्चाको छ।

About Author

Advertisement