कोलकाता: वृद्ध महिला रोइरहेकी छिन्, उनी डराएकी छिन्। कसैले केही सोधे पनि उनको एउटै जवाफ हुन्छ, ‘म बोक्सी होइन टुनामुना गरिरहेको छुइनँ। म पनि तपाइँजस्तै साधारण मान्छे हुँ। मलाई स्वस्थ रहन दिनुहोस्, मलाई राम्रोसँग बाँच्न दिनुहोस्l’ वृद्धा रोएको देखेर जो कोहीको मन दुखेर आउँछl तर त्यहाँ उपस्थित कसैलाई केही फरक परेन, कारण यस्तो घटनाको जिम्मेवार उनीहरू नै थिएl उनीहरुले जानीजानी वृद्धालाई बोक्सी बनाएर उनको सम्पत्ति हडप्नलाई यातना दिइरहेका थिए। उनलाई घरबाट समेत निकालियो। उनी झण्डै दुई सातादेखि घरबारविहीन छिन्। घटना अण्डल थाना क्षेत्रको साउथ ब्लक क्षेत्रको हो। पीडितको उमेर ६० वर्ष बताइएको छ।
स्रोतका अनुसार फरीदपुर थाना इलाका इच्छापुरका एक व्यक्तिले ती वृद्ध महिलालाई बोक्सी भएको भन्दै उजुरी दिएका छन्। ७ जुलाईमा गाउँलेको मृत्यु भएपछि करिब १०–१५ जनाको समूहले वृद्धालाई बोक्सी भएको आरोप लगाउँदै हमला गरेको थियो। उनलाई कुटपिट गरिएको थियो। होश आएपछि रातभर निर्मम यातना जारी रह्यो। उनको टाउको खौरियो। उनलाई विषालु काँडाले घोंचेको पनि आरोप छ। रातभर यो निर्मम यातना जारी रहेपछि आरोपीले वृद्धाका छोराबाट २० हजार रुपियाँ लुटेर फरार भएका थिए। उनका छोरा छोरीले रोक्न खोज्दा कुटपिट समेत गरेको आरोप छ। घटनापछि परिवारका सदस्यले वृद्धालाई उद्धार गरी कन्कासा ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरे।