गेजिङः “२०२४ मा एसडीएफको सरकार बनिएपछि लिम्बू-तामाङको सीट आरक्षण पक्का हुन्छ। एसडीएफ पार्टी र पवन चामलिङले मात्र लिम्बू-तामाङको सीट आरक्षण गर्न सक्छ।“ उक्त मन्तव्य विपक्षी एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष एडी सुब्बाले गरेका हुन्। उनी हिजो पश्चिम सिक्किमको गेजिङमा आयोजित सिक्किम प्रजातान्त्रिक मोर्चाको समष्टिस्तरीय सभालाई सम्बोधन गर्दैथिए।
लिम्बू-तामाङ समुदायले पवन चामलिङकै निरन्तर प्रयासका कारण जनजातिको मान्यता पाएकाले यी समुदाय चामलिङप्रति ऋणि हुनुपर्ने डा. सुब्बाको मत थियो। एसडीएफ पार्टी र उसको सिद्धान्तप्रति आफूलाई विश्वास रहेको बताउँदै चामलिङप्रति भरोसा राख्न उनले लिम्बू-तामाङ समुदायलाई आह्वान गरे। २०१९ को चुनाउअघि एसकेएमले सरकारमा आए केही दिनभित्रमा लिम्बू-तामाङको सीट आरक्षण गर्छु भनेको कुरालाई स्मरण गराउँदै सुब्बाले चुनौती दिए, “अहिले एसकेएमको सरकार छ। सरकारले आफ्ना वाचाहरू पूरा गरेर देखाओस्।“ लोकसभा सदस्य लिम्बू अनि राज्यका मुख्यमन्त्री तामाङ भएर पनि लिम्बू-तामाङको सीट आरक्षण गर्न नसकेकोमा उनले व्यङ्ग्य पनि कसे।
पूर्व मन्त्री तथा एसडीएफका वरिष्ठ उपाध्यक्ष उगेन ग्याछो लेप्चाको विशेष आतिथ्यमा सम्पन्न समष्टिस्तरीय सभालाई पश्चिम जिल्ला चेली मोर्चा संयोजिका पासाङ भोटिया, पूर्व जिल्ला युवा संयोजक राजेश वालिङ, दक्षिण जिल्ला चेली मोर्चा संयोजिका दिलु दाहाल, पश्चिम जिल्ला युवा इन्चार्ज सुमन प्रधान, संगठन सचिव पीएन शेर्पा आदिले पनि सम्बोधन गरेका थिए। यस अवसरमा वक्ताहरूले राज्यमा एसडीएफ पार्टीको सरकार गठनको आवश्यकताबारे प्रकाश पारेका थिए भने आफूहरू एसडीएफ पार्टी र पवन चामलिङको सपोर्टर्स नभएर फलोवर्स रहेको पनि बताएका थिए। पूर्व मन्त्री सोनाम ग्याछो लेप्चाले यो कठिन घड़ीमा सबै सिक्किमे संगठित नभए भविष्यका लागि खतरा उत्पन्न हुनसक्ने मन्तव्य गरे। २५ वर्षको एसडीएफको शासनकालमा केही कमजोरीहरू रहेको जनताले भन्दै आएको भए तापनि अहिले एसडीएफको हार हुनु भनेको सिक्किमे जनताको हार हुनु रहेको राज्यवासीले अनुभव गरिरहेको लेप्चाको भनाई थियो।
-हिस