सोनादा: दैनिक रूपमा हामी अनावश्यक खर्च गरिरहेका छौं। हामी हरेक दिन पुण्य, धर्म र आफ्नो महानताको कुराहरू पनि गर्छौं। तर वास्तविकतामा के हामीले साच्चै आवश्यकतामा परेका दु:खीहरूलाई सहयोगको हातहरू बढाएका छौं? प्रश्न जटिल छ।यद्यपि हामी यस्ता विषयमा आफै मनन र चिन्तन गर्नु आवश्यक छ। हामी दैनिक पूजापाठ गर्छौं, मठ मन्दिरमा पैसा चढाउँछौ। कैयौं रूपियाँको फूल प्रसाद चढाउँछौं। तर त्यही अलिकति पैसा एउटा गरीब असहाय बिमारीको निम्ति दान गरे साचो पूजा हुनेछ।स्थानीय सोनादा राजाहट्टा निवासी आनन्द छेत्री (पिता सागर छेत्री) हाल किड्नी रोगको समस्याले पीडित छन्। उनी हाल कोलकोताको रवीन्द्रनाथ टेगौर अस्पतालमा उपचाराधीन अवस्थामा छन् भने उनकी आफ्नै बहिनीले किड्नी दान गर्ने भएको छ। तर समस्या के छ भने उक्त कार्यको निम्ति छ लाख रूपियाँ खर्च लाग्ने भएकोले सो खर्च जुटाउन परिवार पक्ष असमर्थ छन्। घरमा कमाउने व्यक्ति नै आनन्द छेत्री थिए। तर उनी नै अहिले किड्नी जस्तो जटिल रोगले ग्रसित छन्। उनको पिता सागर छेत्री पनि छोराको बिमारीपछि स्टक भएर बिमारी अवस्थामा रहेका छन्। उनको आमा पनि बेकारी नै हुन्। त्यसैले आनन्द छेत्रीलाई चाहिने पैसा जुटाउन परिवार पक्ष असमर्थ छन्। उनको रोग जाती पार्नलाई धेरै खर्च चाहिएको छ। त्यसैले यदि पीडित रोगीलाई उपचार हेतु सहयोग गर्न कोही पनि दयालु महानुभाव हुनुहुन्छ भने किड्नी रोगी आनन्द छेत्रीको एकाउन्ट नम्बर: 20389166533, IFSC Code: SBIN0015313 सोनादा शाखामा हालिदिने अनुरोध गरेका छन्।