२२ जुलाईः यूरोप छोड़ेर अमेरिका आउने अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सीको निम्ति मेजर लीग सकरको क्लब इण्टर मियामीबाट पदार्पण यादगार रह्यो। लीग कप २०२३-को म्याचमा इण्टर मियामीले क्रूज अजुललाई २-१-ले पराजित गऱ्यो। त्यही म्याचमा मेस्सीले पनि इण्टर मियामीबाट पदार्पण गरे। गत वर्ष अर्जेण्टिनालाई फिफा वर्ल्ड कप दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मेस्सी ५४औं मिनटमा बेञ्चबाट मैदानमा पसे अनि त्यस समय स्कोर १-१-को बराबरीमा रहेको थियो। मेस्सीले मैदानमा प्रवेश गर्नको साथै डीआरभी एनके स्टेडियममा दर्शकहरूले उनलाई भव्य स्वागत जनाए। मेस्सीले पनि आफ्नो ख्याति अनुरुप प्रदर्शन गर्दै म्याचको अन्तिम क्षणमा फ्री किकबाट दर्शनीय गोल गरी इण्टर मियामीलाई जीत दिलाए। म्याचको आनन्द लिन स्टेडियममा ईंग्ल्याण्डका पूर्व कप्तान तथा इण्टर मियामीका सह-मालिक डेविड बेकहम पनि उपस्थित थिए। मेस्सीले स्टपेज टाइममा फ्री किकबाट गोल गरेको देखेर बेकहम भावुक बने। म्याचपछि मेस्सी मैदान बाहिर जाँदा बेकहमले उनलाई अँगालो हालेर स्वागत जनाए।