
हे गोर्खा तिमी यसरी बिक्री हुन्छौ भनेर सोंचेको थिइनँ
जातिलाई नै डुबाउने जाल बुन्छौ भनेर सोंचेको थिइनँ
खै के भयो तिम्रो दिमाग र हृदयलाई बुझ्न नै सकिनँ
गोर्खाको हत्याराको साथ चुन्छौ भनेर सोंचेको थिइनँ
लाज शरम सबै पचाएर पैसा कमाउने तिम्रो इच्छाले
दलालीको यस्तो पराकाष्ठा छुन्छौ भनेर सोंचेको थिइनँ
सबै कुराको सीमा हुन्छ यो कुरा बुझेनौ वा बुझ पचायौ
पेटै भर्नलाई दुश्मनको पाउ धुन्छौ भनेर सोंचेको थिइनँ
उन्मुक्तिको हिमायती जातिप्रेमी मान्छेहरूको कुरा नसुनी
तानाशाही शासकहरुको कुरा सुन्छौ भनी सोंचेको थिइनँ
अलिकति सहुलियत र मोज मस्तीमा आफूलाई नै बेचेर
जीवनभरि पछुताउँदै ग्वाँ ग्वाँ रुन्छौ भनेर सोंचेको थिइनँll