दोस्रो टेस्टमा भारतको स्थिति मजबूत

IMG-20230722-WA0179.jpg

२२ जुलाईः वेष्ट इण्डिज विरुद्ध पोर्ट अव् स्पेनमा जारी दोस्रो तथा अन्तिम टेस्ट म्याचमा भारतले आफ्नो स्थिति मजबूत बनायो। भारतले आफ्नो पहिलो ईनिंग्समा बनाएको ४३८ रनको जवाफमा वेष्ट इण्डिजले दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा १ विकेट गुमाएर ८६ रन बनायो। यसरी आयोजक वेष्ट इण्डिज अहिले पनि पहिलो ईनिंग्सको आधारमा ३५२ रन पछि रहेको छ। दिनको खेल समाप्त हुँदासम्म कप्तान क्रेग ब्रेथवेट ३७ अनि किर्क म्याकेञ्जी १४ रनमा अविजित थिए। वेष्ट इण्डिजले एकमात्र विकेटको रूपमा ओपनर टेगनारायण चन्द्रपललाई गुमायो। कप्तान ब्रेथवेटसँग पहिलो विकेटको निम्ति ३४.२ ओभरमा ७१ रनको पार्टनरशीप गरेपछि चन्द्रपल विपक्षी स्पिनर रविन्द्र जडेजाको शिकार बने। उनले ९५ बल खेलेर ४ वटा चौकाको साथ ३३ रन बनाए।

यसअघि दोस्रो दिनको खेलमा विराट कोहलीको रेकर्ड शतकको साथमा भारतका दुई अलराउण्डर रविन्द्र जडेजा र रविचन्द्रन अश्विनको अर्द्धशतक मुख्य आकर्षण रह्यो। भारतले पहिलो दिनको स्कोर ४ विकेटमा २८८ रनदेखि अघि खेल्न शुरु गऱ्यो अनि कोहलीले पहिलो सेशनको खेलमै आफ्नो २९औं टेस्ट शतक पूरा गरे। यो उनको अन्तर्राष्ट्रिय करियरको ७६औं शतक पनि हो। यसबाहेक विदेशी माटोमा यो उनको लगभग ५ सालपछि पहिलो शतक थियो। साल २०२३-मा चाहिँ यो उनको तेस्रो शतक हो। कोहलीले ११ वटा चौकाको साथ २०६ बल खेलेर १२१ रन बनाए। कोहलीले पहिलो टेस्टमा पनि ७६ रनको उत्कृष्ट ईनिंग्स खेलेका थिए तर त्यसलाई शतकमा परिणत गर्नदेखि चाहिँ चुकेका थिए।
जडेजा र अश्विनको अर्द्धशतकः
छैटौं नम्बरमा ब्याटिंग गर्न ओर्लिने रविन्द्र जडेजाले कोहलीलाई असल साथ दिए अनि आफ्नो अर्द्धशतक पनि पूरा गरे। यी दुईले मिलेर पाँचौं विकेटको निम्ति १५९ रनको पार्टनरशीप गरे। जडेजाले ५ वटा चौकाको साथ १५२ बलको सामना गरी ६१ रन बनाए। कोहली र जडेजा आउट भएपछि अश्विनले पनि अन्तमा आएर क्यारेबियन बलरहरूलाई सताए। उनले ७८ बल खेलेर ८ वटा चौकाको साथ ५६ रन बनाए। अश्विनको रूपमा अन्तिम विकेटको पतनसँगै भारतको पहिलो ईनिंग्स ४३८ रनमा समाप्त भयो। वेष्ट इण्डिजका बलरहरूमा केमार रोच र जोमेल वारिकनले ३-३ विकेट लिए। जेसन होल्डरले पनि २ वटा सफलता हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement