काठमाडौं: नेपालमा एक सय केजी सुन बरामद भएको घटनाले राजनीतिकवृत्त तरंगित भएको छ। सुन तस्करीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आरोप लगाउँदै सत्तापक्ष नेपाली काँग्रेसका नेताहरुले राजीनामा मागेका छन्। शुक्रबार संसदीय समितिमा बोल्दै कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका हुन्। विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी रोक्न नसकेको उनको आरोप थियो। कांग्रेस केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य जीतजंग बस्नेतले पनि श्रेष्ठको सुन तस्करीमा संलग्नताको आरोप लगाउँदै राजीनामा मागेका छन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीको माथिल्लो तहसम्म अनुसन्धान गरी कारबाही गरिने बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनका क्रममा पत्रकारको प्रश्नमा उनले तस्करीमा संलग्न कसैलाई छुट नदिने बताए। श्रेष्ठ प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष पनि हुन्। उनी गृहमन्त्री बनेपछि ठूला अनियमितता र तस्करीका घटनाको छानविन बढाएका छन्। नेपालमा मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीका १०० केजी सुन बरामद भएको थियो। यो घटनामा चिनियाँ नागरिक समेत पक्राउ परेका छन्। तस्करी गिरोहले संगठित रुपमा सुनको अवैध धन्दा चलाइरहेको खुलेको छ। नेपालको राजश्व अनुसन्धान विभागले यसबारे छानविन गरिरहेको छ।