२ जुलाईः कठोर मेहनत, अनुशासन र धैर्यको साथ निरन्तर प्रदर्शन गरेर कुनै खेलाड़ीले भारतीय क्रिकेट टीममा स्थान पाउँछन् अनि साथमा सफल हुने जिद रहे त्यस खेलाड़ीले रिषभ पन्तको नाम पाउँछन्। बर्मिंघमको जुन एजबेस्टन मैदानमा जारी पाँचौं टेस्ट म्याचको पहिलो दिन चेतेश्वर पुजारा र विराट कोहली जस्ता दिग्गजहरू भटाभट आउट हुँदा एक समय भारतको पहिलो ईनिंग्समा स्कोर ५ विकेटमा ९८ रन रहेको थियो। यस्तो स्थितिमा ईंग्ल्याण्डका कप्तान बेन स्टोक्सले त भारतको पहिलो ईनिंग्स १५० रनभित्र समाप्त हुने सोचिसकेका थिए तर क्रीजमा ओर्लिएर युवा विकेटकीपर ब्याटर रिषभ पन्तले सबै हिसाब उल्टा गरे। हार नमान्ने मानसिकताको साथ देब्रे हातका यस ब्याटरले विध्वंशी मिजासमा खेल्दै भारतलाई संकटबाट बाहिर निकाले। पन्त १४६ रन बनाएर आउट भए। उनले देब्रे हातका अन्य एक ब्याटर रविन्द्र जडेजासँग दोहोरो शतकीय साझेदारी गरी ईंग्ल्याण्डमाथि दबाउ सृष्टि गरे। यसरी भारतले वर्षाले वाधा पुऱ्याएको पहिलो दिन आफ्नो पहिलो ईनिंग्समा ७३ ओभर खेलेर ७ विकेटमा ३३८ रन बनायो। रविन्द्र जडेजा ८३ अनि मोहम्मद शमी शून्य रनमा खेलिरहेका छन्।
ओवल, सिडनी, गाबा, मोटेरा, न्यूल्याण्ड्स र अहिले एजबेस्टनको मैदान। यी सब ती मैदानहरू हुन्, जहाँ रन बनाउने हरेक ब्याटरको सपना हुन्छ। आफ्नो लामो करियरमा पनि धेरै दिग्गजहरूले यस्तो गर्न सक्दैनन् तर केवल ३० वटा टेस्टको करियरमा २५ वर्षीय पन्तले यस्तो गरेर देखाएका छन्। उनले टीम चेपारोमा परेको समय हरेकपल्ट डटेर ब्याटिंग गरेका छन्। यसपाली उत्तराखण्डका यस क्रिकेटरले अंग्रेजहरूलाई पनि दिनमै तारा देखाए। पन्तले केवल ८९ बलमा आफ्नो शतक पूरा गरे। जो रुटको बलमा आउट हुन अघि उनले १९ वटा चौका र ४ वटा छक्काको सहायताले १११ बलमा १४६ रन बटुले। आकाशमा बादल छाएको हुनाले दिनको शुरुवातमा बल स्विंग भइरहेको थियो तर वर्षापछि घाम लाग्दा विकेट ब्याटिंगको निम्ति अनुकूल बन्यो। त्यसपछि पन्तले कसैलाई रिहाई दिएनन्। उनले जडेजासँग छैटौं विकेटको निम्ति ३८.३ ओभरमा २२२ रनको साझेदारी गरी टीमलाई असल स्थितिमा पुऱ्याए। यस अवधि उनले टेस्ट करियरमा आफ्नो पाँचौं शतक पनि बनाए। अन्तर्राष्ट्रिय क्रिकेटमा अहिले पन्तको नाममा १०३ वटा छक्का भइसकेको छ। यसरी उनी अन्तर्राष्ट्रिय क्रिकेटमा १०० वटा छक्का लगाउने सबैभन्दा युवा ब्याटर बनेका छन्। विदेशमा यो उनको चौथो शतक हो। यसरी पन्त घरदेखि बाहिर सर्वाधिक शतक बनाउन भारतीय विकेटकीपर पनि बनेका छन्।