२१ जुलाईः विराट कोहलीको टेस्ट शतकको प्रतीक्षा यसै साल अहमदाबादमा अष्ट्रेलिया विरुद्ध समाप्त भएको थियो। साल २०१९ पछि कोहलीले २०२३-मा टेस्ट शतक बनाएका थिए। त्यसपछि अझ एउटा प्रतीक्षा रहेको थियो, जुन आज पूरा भयो। विदेशी माटोमा कोहलीले आफ्नो अन्तिम शतक २०१८-मा बनाएका थिए। दिसम्बर २०१८-मा कोहलीले अष्ट्रेलिया विरुद्ध पर्थमा शतक बनाएका थिए। यसपाली वेष्ट इण्डिज विरुद्ध पोर्ट अव् स्पेनमा जारी दोस्रो टेस्ट म्याचमा शतकको साथ उनले विदेशी माटोमा शतकको खड़ेरीलाई पनि समाप्त गरे। विदेशी माटोमा शतक बनाउन कोहलीले १६७८ दिन प्रतीक्षा गर्नु पऱ्यो। कोहलीले शुक्रवार पहिलो सेशनको खेलमा १८० बलको सामना गरी १० वटा चौकाको साथ आफ्नो २९औं टेस्ट शतक पूरा गरे। आफ्नो ५००औं अन्तर्राष्ट्रिय म्याचमा यस शतकको साथ कोहलीले केही रेकर्ड पनि बनाए।
वास्तवमा यो कोहलीक ७६औं अन्तर्राष्ट्रिय शतक हो, जुन उनको ५००औं अन्तर्राष्ट्रिय म्याचमा आयो। यसरी उनी ५०० वटा म्याचसम्म ७६ वटा शतक बनाउने विश्वका एकमात्र ब्याटर बने। दोस्रो स्थानमा महान सचिन तेन्दुलकर छन्, जसले ५०० वटा अन्तर्राष्ट्रिय म्याचमा ७५ वटा शतक बनाएका थिए। यसरी नै आफ्नो ५००औं अन्तर्राष्ट्रिय म्याचमा शतक बनाउने कोहली विश्वका एकमात्र क्रिकेटर हुन्। यसअघि ५०० वटा अन्तर्राष्ट्रिय म्याचसम्म पुग्ने नौजना खेलाड़ीले यस्तो गर्न सकेका थिएनन्। यसबाहेक टेस्टमा शतक लगाउने मामिलामा कोहलीले अष्ट्रेलियाका महान खेलाड़ी सर डन ब्र्याडम्यानको बराबरी गरे। ब्र्याडम्यानले ५२ वटा म्याचमा २९ वटा शतक बनाएका थिए जबकि कोहलीले १११ वटा टेस्टमा २९औं शतक बनाए। उनले केन विलियम्सलाई चाहिँ पछि छोड़े, जसले २८ वटा टेस्ट शतक बनाएका छन्।