गान्तोक: सिक्किम चेस एसोसिएशनको पहलमा आजदेखि राजधानीस्थित टाशी नामग्याल उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा तीन दिवसीय अन्तरविद्यालय चेस प्रतियोगिता शुरू भयो। आजदेखि शुरू भएको यस प्रतियोगितामा राज्यका कूल चालिसवटा विद्यालयका विद्यार्थीहरूले अंशग्रहण गरेको आयोजक समितिका महासचिव महेन्द्र ढकालले जानकारी गराएका छन्। पत्रकाहरूसँग कुराकानी गर्दै ढकालले यस तीन दिवसीय चेस प्रतियोगिताको समापन आगामी २३ जुलाईको दिन हुने बताए। आयोजक समितिले प्रति वर्ष विद्यार्थीहरूलाई चेसप्रति आकर्षित गराउने उद्देश्यले अन्तरविद्यालय प्रतियोगिता आयोजना गर्दै आइरहेको उनले थप जानकारी गराएका छन्। उनले चेस खेलमा भविष्य राम्रो रहेको र यस खेल खेल्नाले नानीहरू मानसिकरूपमा चुस्त रहने र नकारात्मक कुराबाट वञ्चित रहने अवगत गराए। छोटो समयमा सिक्किम राज्यमा चेस खेल धेरै फस्टाएको महासचिव ढकालले दावी गरेका छन्। वर्तमान परिपेक्ष्यमा राज्यको विभिन्न विद्यालयले यस खेलप्रति चासो देखाउने पाठ्यक्रममा नै समावेश गरिसकेको जानकारी गराए।