कालचिनीः भाजपाको राज्यव्यापी बीडीओ कार्यालय घेराउ कार्यक्रमको क्रममा कालचिनी बीडीओ कार्यालय घेराउ गरियो।बीडीओ घेराउ गर्न पुगेका भाजपा समर्थकहरूलाई पुलिसले गेटमा अवरोध गर्दा भाजपा समर्थक र पुलिसमाझ झण्डै घम्साघम्सी चलेको थियो। यसबीच पुलिस प्रशासन र भाजपा कार्यकर्ताहरूमाझ तनाव उत्पन्न भएको थियो भने भाजपा समर्थकहरूले गेट बलपूर्वक ढेकाल्दै बीडीओ परिसरमा पस्दा बीडीओ कार्यालयको प्रवेशद्वारमा एसडीपीओ एलटी भोटियाको नेतृत्वमा भाजपा समर्थकहरूलाई अवरोध गरिएको थियो।
भाजपा समर्थकहरूले बीडीओ मुर्दाबादको नारा लगाउँदै गेट अघि नै धरना शुरु गरेको थियो। यता पुलिसले १४४ धारा लगाएकोले सबैलाई गेट बाहिर प्रदर्शन गर्ने निवेदन गरेको थियो। गेट बाहिर हल्लाखल्लाबीच भाजपा विधायक विशाल लामा, भाजपा नेता राजेश बारला र आलोक मित्रले पञ्चायत भोटमा तृणमूलको दलदास भएर छप्पा भोट गराउने अनि मतगणनामा ब्यालेट गण्डागोल गरेर भाजपालाई हराउने भूमिकाको नाईको कालचिनी बीडीओ रहेकोले भाजपाले राज्यव्यापी रुपमा आज बीडीओ कार्यालय घेराउ कार्यक्रम गरेको र पुनः मतदानको दाबी सरकार समक्ष राखेको जनाएका छन्।









