सिलगढी: पिउने पानीको मागमा सीपीएमले सिलगढी नगरनिगम घेराउ गरेर विरोध प्रदर्शन गर्यो। सिलगढी सहरमा पिउने पानीको समस्या भइरहेको छ। तर मेयर लगायत सबै पार्षदहरू सहरको पिउने पानीको समस्यालाई छोडेर राजनीतिक कार्यक्रममा अंश ग्रहण गर्न गएको आरोप लगाउँदै दार्जिलिङ जिल्ला सीपीएमले आज सिलगढी नगरनिगम घेराउ गरेर विरोध प्रदर्शन गर्यो। उक्त कार्यक्रममा नगरनिगमका पूर्व मेयर अशोक भट्टाचार्य, दार्जिलिङ जिल्ला सीपीएमका सचिव समन पाठक लगायत अन्य कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। प्रदर्शनकारीहरूको आरोप अनुसार वर्तमान सिलगढी नगर बोर्ड पिउने पानीको समस्याको समाधान गर्न पूर्ण रूपमा विफल रहेको छ। सहरवासी पिउने पानीको समस्यासित जुझिरहेका छन् तर नगरनिगमलाई यसबारे कुनै सरोकार नै छैन। नगरनिगमले तत्कालै सहरवासीलाई पिउने पानी उपलब्ध गराउनुपर्छ। यसो नभएको खण्डमा आगामी दिनमा बृहद आन्दोलन गर्ने सीपीएम नेताहरूले चेताउनी दिएका छन्।