पाङथाङ हत्याकाण्डः पीडित परिवार पुलिस कारबाहीप्रति असन्तुष्ट

IMG-20230410-WA0169-11-300x172-5

चार्जशीट बुझाइसकेको पुलिसको भनाइ

गान्तोक। राजधानी छेउ पाङथाङमा भएको नाबालिग हत्याकाण्डका पीडित परिवारले पुलिसको कारबाहीमाथि असन्तुष्टि व्यक्त गरेको छ। परिवारले पुलिसमाथि हत्याकाण्डको ९० दिन बितेर जॉंदा पनि चार्जशीट नबुझाएको आरोप लगाएको छ।

पीडितकी आमाले आज आयोजित एक संवाददाता सम्मेलनमा उनको छोरीको हत्याकाण्डलाई पुलिसले अहिलेसम्म चार्जशीट बुझाएको छैन भनी आरोप लगाइन्। उनले केही दिनअघि आफु न्यायालयमा गएर सोधीखोजी गर्दा पुलिसले चार्जशीट कोर्टमा बुझाएको छैन भन्ने कुरा थाहा पाएको दाबी गरिन्। उनले हत्याकाण्ड भएको लगभग चार महिना पुग्न लाग्दा पनि चार्जशीट बुझाएको छैन, जबकि तीन महिनामा चार्जशीट बुझाउनु पर्ने हो भनी बताइन्।

उनले उनको नानीले न्याय पाएको छैन भन्दै नानीको न्यायको निम्ति मिडियामा आउन बाध्य बनेको बताइन्। उनले पुलिस थानामा जॉंदा पुलिसकर्मीहरूद्वारा सहयोग नपाएको पनि आरोप लगाइन्। उनले अब न्यायको निम्ति कहॉं जानु पर्ने हो भनी प्रश्न गरिन्। उनले मिडिया र जनसाधारणलाई छोरीको न्यायको निम्ति सहयोग गरिदिन अपील पनि गरिन्।

अर्कोतिर, पुलिस अधीक्षक कर्म लोडेन लेप्चाले चार्जशीट बुझाएको छैन भन्ने आरोप सही नरहेको स्पष्ट पारे। उनले निर्धारित समयभित्र चार्जशीट बुझाइसकेको छ भनी जानकारी गराए। उनले यस्तो जघन्य अपराध बिरलै हुने गर्दछ भन्दै पुलिसले पनि यस घटनालाई गम्भीरतासॅंग लिएर आफ्नो काम गरेको बताए। उनले आरोपित व्यक्तिलाई सजाय दिलाउन पुलिसले गहन छानबिन गरेर साक्ष्यहरू जुटाएको पनि दाबी गरे।

उल्ल्लेखनीय छ, पीडित परिवारले ११ अप्रेल, २०२३ मा छोरी हराएको सूचना पुलिसमा दिएको थियो। १४ अप्रेलका दिन पाङथाङको जङ्गलबाट नाबालिगका शव भेटियो। यसपछि, पुलिसले १७ अप्रेलका दिन आरोपित व्यक्तिलाई पक्राउ गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement