गान्तोक। साहित्य अकादेमी नयाँ दिल्लीद्वारा मंगलवार आयोजन गरिएको अखिल भारतीय दिव्याङ्ग लेखक सम्मेलनमा भारतीय नेपालीभाषी नागरिकहरूको प्रतिनिधित्त्व गर्दै कालेबुङ जिल्लाअन्तर्गत गीतखोला निवासी अर्जुन शर्मा निरौलाले सहभागिता जनाएर सबैलाई गौरवान्वित तुल्याएका छन्। भारतीय संविधानको आठौँ अनुसूचीमा मान्यताप्राप्त भाषाहरूको प्रथम अखिल भारतीय दिव्याङ्ग लेखक सम्मेलनमा नेपालीभाषी दिव्याङ्ग लेखकको प्रतिनिधित्त्व गर्ने अर्जुन निरौला एक मात्र कवि एवम् लेखक हुन्। लामो समयदेखि ह्विलचेयरमा रहेर पनि नेपाली भाषा साहित्यको क्षेत्रमा अनवरत कलम चलाउँदै आएका अर्जुन शर्मा निरौलाले नयाँ दिल्लीको रवीन्द्र भवनमा आयोजित लेखक सम्मेलनमा कविता प्रस्तुत गरेका थिए। उनीसँग उनकी धर्मपत्नी सरोजा बान्तवा पीयूष र मित्र पुरण छेत्री साथमा गएका थिए।
नयाँ दिल्लीमा आयोजित कार्यक्रमपछि कवि अर्जुन शर्मालाई त्यहाँस्थित गोर्खा भवनमा गोर्खा समुदायका विभिन्न संघ-संस्थाद्वारा अभिनन्दन जनाइएको थियो। हिजो उनी फर्केर बाघडुग्रा आइपुग्दा सिलगढीको कञ्चनजङ्घा फुटबल क्लबका प्रतिनिधिहरूले स्वागत जनाएका थिए। उनले आफूलाई यसरी प्रथम अखिल भारतीय दिव्याङ्ग लेखक सम्मेलनमा सहभागी बन्नमा सहयोग पुऱ्याउने साहित्य अकादेमीका संयोजक शंकरदेव ढकाल, मित्र पुरण छेत्रीलगायत सम्पूर्ण शुभचिन्तक एवम् सहयोगीहरूप्रति कृतज्ञता प्रकट गरेका छन्।









