गान्तोकः पेलिङ टुरिज्म डेभलोपमेन्ट एसोसिएशनले टुरिस्ट गाइड, ड्राइभर्स होटलका प्रबन्धकहरूलाई लिएर हिजोदेखि ६ दिवसीय अभिमुखी कार्यक्रम शुरू गरेको छ। पेलिङ वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित यो कार्यक्रमको समापन आगामी २३ जूलाईको दिन हुनेछ। यस कार्यक्रमको उद्घाटन सिड्डीको ब्याङ्कका अध्यक्ष जनक गुरूङले गरे। सो कार्यक्रममा पेलिङ विद्यालयका प्रचार्य वाईएन राना लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि जनक गुरूङले यस प्रकारको कार्यक्रममा आफूलाई आमन्त्रित गरेकोमा कृतज्ञता प्रकट गर्दै कार्यक्रमले टुरिस्ट गाइड, ड्राइभर्स र होटल प्रबन्धकहरूलाई लाभ पुग्ने बताए।
गुरूङले विशेष गरेर चालकहरू राज्यभित्र विदेशी साथै घरेलु पर्यटकहरू ल्याउनमा ठूलो भूमिका निर्वाह गर्नका साथै उनीहरू राज्यमा पर्यटकहरू ल्याउनमा दूत सरह काम गर्न सक्ने मन्तव्य प्रकट गरे। राज्यका आएका पर्यटकहरूलाई अनुशासित बन्दै उनीहरूलाई आफ्नो घरमा आएको अतिथि सरह व्यवहार गर्नुपर्छ भन्ने विषयमा बल दिए। यस कार्यक्रमबाट सिकेर त्यसलाई व्यवहारमा ल्याउनु पर्ने आग्रह गर्दै नशालु पदार्थ जस्तो कुराबाट टाडा बस्नुपर्ने सुझाउ दिए। उनले आगामी दिनमा पनि व्यवसायिक पर्यटनतर्फ सरोकारवालाहरूको ध्यान आकर्षित तुल्याउनको निम्ति यस्ता कार्यक्रमहरू आयोजना गरेर प्रोत्साहित गर्नुपर्ने सुझाउ दिए।









