नयाँ दिल्लीः कंग्रेसले भनेको छ, मणिपुरमा दुई महिलासित भएको अभद्र व्यवहार अत्यन्त दुःखदायी छ। अपराधीहरूले कड़ाभन्दा कड़ा सजाय पाउनुपर्छ। कंग्रेस प्रवक्ता रंजीत रंजनले बिहीवार पार्टी मुख्यालयमा आयोजित सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै भने, मणिपुरमा महिलाहरूसित जुन किसिमको अमानवीय व्यवहार भएको छ त्यस बारेमा सोँच्दा पनि मेरो आत्मा कापिरहेको छ। अपराधीहरूलाई कड़ाभन्दा कड़ा सजाय दिएर पनि हामी ती पीड़ित महिलाहरूको अस्मिता फर्काउन सक्छौं र? उनले भने, सदनमा बसेका तमाम मानिसहरूसित प्रश्न गर्न चाहन्छु कि यसलाई के राजनीतिक खेल भन्ने? के यसलाई ‘अल इज वेल’ भन्ने? आज यस्ता गम्भीर प्रश्नहरू तेर्सिएका छन्, तर प्रधानमन्त्री किन मौन छन्? हिंसाको परिणाम सदैव महिलाहरूले नै किन भोग्नुपर्छ? के सदनमा यसको चर्चा हुनेछ?
महिला कंग्रेसकी कार्यवाहक अध्यक्ष नेट्टा डिसूजाले भनिन्, हामीले कहिल्यै पनि सोचेका थिएनौं कि ‘न्यू इण्डिया’- मा महिलाहरूसित यस्तो अमानवीय व्यवहार पनि हुनसक्छ। मणिपुरमा आजसम्ममा १५० मृत्यु भइसकेको छ, ६५ हजारभन्दा अधिक बेघर भइसकेका छन्। यो अत्यन्त लज्जास्पद छ। देशका प्रधानमन्त्री सहित तमाम केन्द्रिय मन्त्रीहरू यदि मणिपुरको मुद्दामा मौन छन् भने उनीहरू चाहन्छन् कि मणिपुरमा हिंसा होस्। यस घटनाको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ।
कंग्रेस प्रवक्ता सुप्रिया श्रीनेतले भनिन्, आज संसद सत्र शुरू हुनअघि प्रधानमन्त्री मोदीले ०८ मिनट २५ सेकेण्डको सम्बोधन राखे। यस सम्बोधनमा प्रधानमन्त्री मोदीले मणिपुरमाथि केवल ३६ सेकेण्ड बोले, त्यसपछि राजस्थान-छत्तीसगढ़माथि राजनीति गर्न थाले। यसरी नै कंग्रेस प्रवक्ता पवन खेड़ाले भने, मणिपुरमा भएको घटनाको भिडियो हेरेर सारा देश लज्जित भएको छ।
उल्लेखनीय छ कि मणिपुरमा दुईजना महिलाहरूलाई निर्वस्त्र घुमाएको भीडियो सोशल मीडियामा भायरल भएपछि विपक्षले मोदी सरकारलाई लक्ष्य बनाएको छ। जबकि प्रधानमन्त्री मोदीले यस घटनाको निन्दा गरेका छन्। उनले सबै राज्य सरकारहरूसित यस्तो मुद्दामा कठोरभन्दा कठोर कारबाही गर्ने आग्रह पनि गरेका छन्।
-हिस









