मुम्बईः रायगढ़ जिल्लाको इरशालवाड़ी गाउँमा गएको पैह्रोमा पुरिएर ठूलो जनहानि भएको छ। अहिलेसम्ममा ७५ जना मानिसहरूलाई बाहिर निकालिसकिएको छ जसमध्ये ७ जनाको मृत्यु भएको छ। मुख्यमन्त्री एकनाथ शिन्देले मृतकहरूका आश्रितहरूलाई ५-५ लाख रुपियाँ आर्थिक सहयोग दिने घोषणा गरेका छन्। मुख्यमन्त्री अनुसार घटनामा घाइते सबैलाई सरकारको तर्फबाट निशुल्क उपचार गराइनेछ।
मुख्यमन्त्री शिन्देले भने, इरशालवाड़ी बस्ती पहाड़हरूको बीचमा अवस्थित छ। यहाँ रहेका ४८ घरहरूमध्ये १७ घरहरूलाई पैह्रोले पुरेको छ। अहिलेसम्ममा सातजनाको मृत्यु भइसकेको छ भने अन्यलाई बचाउने प्रयास भइरहेको छ। एनडीआरएफ र एसडीआरएफसित मिलेर स्थानीय बचाउ दलले बचाउ अभियान चलाइरहेको छ। शिन्देले बताए, उक्त घटनापछि केन्द्रिय गृहमन्त्री अमित शाहको फोन कल आएको थियो। उनले केन्द्र सरकारको तर्फबाट आवश्यक सबै सहयोग दिने वचन दिएका छन्। दुईवटा हेलिकप्टर पनि तयार छ, तर अनुकूल मौसमको कारणले हेलिकप्टर उड्न सकेको छैन।
यसरी नै उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले भने, यो घटना अत्यन्त दुर्भाग्यपूर्ण छ। हिजो राती साढ़े दश बजे अचानक पैह्रो गएर इरशालवाड़ी गाउँका १७ घर दबिएका छन्। यहाँ ४८ परिवारका २२८ मानिसहरू बस्थे। मौसम परिवर्तनको कारणले पहाड़ धसिने घटनाहरू धेरैवटा ठाउँमा हुन थालेका छन्। घटनास्थलसम्म पुग्ने बाटो नै छैन। जेसीबीसम्म पुग्न सकेको छैन।
उपमुख्यमन्त्री अजित पवारले मुम्बईस्थित आपातकालीन कक्षमा बसेर घटनाबारे जानकारी लिए। उनले भने, घटनास्थलमा स्वयं मुख्यमन्त्री उपस्थित रहेर बचाउ कार्यलाई नियन्त्रण गरिरहेका छन्। एनडीआरएफको टीम र मेडिकल टीमले पनि काम गरिरहेको छ। सम्भावित पैह्रो जाने ठाउँहरू पहिला नै तय गरिएको थियो, तर जहाँ पैह्रो गएको छ त्यसको नाम सूचीमा थिएन। घटनास्थलमा बचाउ कार्य जारी छ।
-हिस









