इम्फालः मणिपुरमा युवतीहरूसित कथित रूपमा सामूहिक दुष्कर्म गरेपछि उनीहरूलाई नग्न अवस्थामा सड़कमा घुमाएको भीडियो भायरल भएपछि राजनीति गर्मिएको छ। मुख्यमन्त्री बीरेन सिंहको कड़ा निर्देशपछि यस मामिलामा पुलिसले मुख्य आरोपी सहित दुईजनालाई पक्राउ गरेको छ। यस सम्बन्धमा केन्द्रिय मन्त्री स्मृति ईरानीले गए बुधवार राती मुख्यमन्त्रीसित वार्ता गरी घटनामा संलिप्त कसैलाई पनि नछाड़्ने आग्रह गरेकी छन्।
पुलिसले बताए अनुसार यस मामिलामा एक व्यक्तिलाई धोउबल जिल्लाबाट पक्राउ गरिएको छ। संदिग्धको पहिचान 32 वर्षीय हेराडासको रूपमा भएको छ। पक्राउ गरिएको अर्को व्यक्तिको नाम भने पुलिसले अहिलेसम्म खुलासा गरेको छैन। हेराडासले नै घटनाको आश्चर्यचकित भीडियो भायरल गरेको आरोप छ। यस किसिमको घटना अघि आएपछि सारा देशभरि नै आक्रोश र निन्दाको लहर चलेको छ। यसबीच राज्यका मुख्यमन्त्री बीरेन सिंहले यस दुःखदायी र दुर्भाग्यपूर्ण घटनामा संलिप्त उपद्रवीहरूलाई पक्राउ गरेर उचित सजाय दिने आदेश दिएका थिए।
यस सम्बन्धमा बिहीवार मुख्यमन्त्री बीरेन सिंहले बताए, मणिपुर पुलिसले घटनालाई गम्भीर रूपमा लिएको छ र घटनाको सम्बन्धमा अपहरण, सामूहिक बलात्कार र हत्याको मामिला दर्ता गरेको छ। उनले अझ बताए, केन्द्रिय मन्त्री स्मृति ईरानीले उक्त घटनालाई ‘निम्नतम स्तरको अमानवीय’ बताउँदै गहिरो चिन्ता व्यक्त गरिन् साथै उनले दोषीहरूलाई न्यायको घेराभित्र ल्याउनको लागि हरसम्भव प्रयास गरिने आश्वासन दिइन्।
जानकारी अनुसार गत ४ मईमा हिंसक उपद्रवबीच उन्मादी मानिसहरूले तीनजना युवतीहरूलाई अपहरण गरी धानको खेतमा पुऱ्याए। एकजना युवती त्यहाँबाट भाग्न सफल भइन्। पछि दुईजना युवतीहरूलाई पूर्णरूपले नाङ्गो बनाएर सामूहिक बलात्कार गरियो। तिनीहरूको दाज्युले आफ्ना बहिनीहरूलाई उपद्रवीहरूदेखि बचाउने साहसिक प्रयास गरेका थिए, तर भीड़ले उसको पनि पीड़ादायी हत्या गरिदियो।
-हिस









