नेपालका प्रमुख दल काँग्रेस र एमालेमा आकर्षण घट्यो, नयाँ दलहरु कार्यकर्ता संख्या बढाउँदै

rgb_281

काठमांडौँः नेपालका प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेमा आकर्षण घट्दै गएको छ। ती दलहरुमा सक्रिय हजारौं कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। छाडेकाहरु मध्ये कतिपयले नयाँ उदाएका दलहरुमा प्रवेश गरेका छन् त कतिपय निष्कृय भएका छन्। नेकपा एमालेले जुलाईको १५ सम्म पार्टी सदस्यता नवीकरण गराउँदा ३ लाख भन्दा कमले मात्र गरेका छन्। जब कि २०२१ मा दशौं महाधिवेशन हुँदा एमालेले ८ लाख सदस्यता वितरण गरेको थियो। एमालेको सदस्यता नवीकरण २५ प्रतिशत मात्र भएको विषय उक्त दलभित्र बहसको विषय बनिसकेको छ।

नेपाली काँग्रेसको २०२१ मा भएको १४औं महाधिवेशनमा ८ लाख ७० हजार कार्यकर्ता रहेको तथ्यांक थियो। त्यसपछि काँग्रेसले सदस्यता नवीकरणबारे केही खुलाइएको छैन। काँग्रेसमा आधा भन्दा बढीले नवीकरण नगरेको उक्त दलका एक नेताले बताए।नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा कार्यकर्ताको संख्या घट्दै गएको विषय उठेको छ। महामन्त्री गगन थापाले देशव्यापी अभियान बनाएर कार्यकर्तालाई सक्रिय बनाउनुपर्ने र संगठन विस्तार गर्नुपर्ने प्रस्ताव ल्याएका छन्।

नेपालमा नयाँ दलहरु उदाएका छन्। जसमध्ये रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी एक हो। उक्त दलले सदस्यताको अनलाइन आवेदन खोल्दा लाखौं आवद्ध भएका छन्। जसमध्ये काँग्रेस र एमाले कार्यकर्ता पनि छन्। नेपालमा नोभेम्बर २०२२ को चुनावपछि उदाएका जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीमा पनि केही आकर्षण देखिएको छ।

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतम नेपालको राजनीतिले नयाँ अवतार लिन लागेको बताए। पुराना दलहरुमा परिवर्तन नआए नयाँ बनेका दलहरुले बलियो पकड बनाउँदै जाने उनको भनाई छ। नोभेम्बरको चुनावमा आरएसपीले १९ सिट ल्याएको थियो। उपचुनावमा थप सिट जोड्दै संसदमा २० सिट बनाएको छ। आरएसपीका अलावा जनमत पार्टी र नागरिक उन्मुक्तिले पहिलोपटक संसदमा प्रवेश बनाउन सफल भएका हुन्।

About Author

Advertisement