कालचिनी – सोमबार राती हाँसीमारा संलग्न ३१ सी राष्ट्रिय राजमार्गको बानियाझोड़ा क्षेत्रमा दुईवटा ट्रकको ठोक्करमा एकजना चालक र एकजना खलासी गरी दुईजनाको मृत्यु भएको घटना प्रकासमा आएको छ। प्राप्त जानकारीअनुसार असमगामी दुवै ट्रक एकार्कामा ओभरटेक गर्ने हुँदा अघिल्लो ट्रकलाई पछिल्तिरबाट ठोक्कर लाग्दा ट्रक अनियन्त्रित भएर पल्टिन पुगेको थियो भने ट्रकको चालक र खलासी घटनास्थलमा नै मृत्यु भएको पुलिस सुत्रले जनाएका छन्। मृतक चालक र खलासीको परिचय खुल्न नसकिएको हाँसीमारा आउटपोस्ट सुत्रले जनाएका छन्।

उक्त दुईवटा ट्रकको ठोक्कर लागेको केही पर एउटा ट्रक अनियन्त्रित भएर सड़कबाट तल खेतबारीमा पल्टिन पुगेको थियो भने उक्त ट्रकको चालक पनि घाइते बनेको पुलिस सुत्रले जनाएका छन्। अर्कोतिर सोही राती एसियन हाईवे ४८ संलग्न १० नम्बर क्षेत्रमा पनि एउटा ट्रक अनियन्त्रित भएर पल्टिँदा ट्रकको चालक गम्भीर घाइते बनेको जान्नमा आएको छ। सबै मिलाए सोमबार राती भिन्न भिन्नै गरी ३ वटा दुर्घटना भएको छ।









