कालचिनी: मान्छे र जङ्गली हात्तीबीचको सङ्घर्ष परापूर्वकालदेखि चलिआएको छ। कहिले जङ्गली हात्तीबाट मान्छेको ज्यान जाने गरेको त कहिले मान्छेको कारण हात्तीको ज्यान जाने गरेको घटनाक्रमबीच आज गाउँले मान्छेहरूको सुझबुझले एउटा जङ्गली हात्तीको ज्यान बाँचेको घटना प्रकासमा आएको छ। दलसिंहपाड़ा गोपालबहादुर बस्तीमा आज बिहानपख जङ्गलबाट पसेको एक्ले हात्ती बिजुलीको तारमा बेरिएको बिहान मोर्निङ वाकमा निस्किएको गाउँले समाजसेवी सञ्जीव गुरुङले देख्दा गाउँलेहरूलाई उठाएर प्रथमत बिजुलीको मूल लाईन काटेको थियो। त्यपश्चात बन विभागलाई यसको जानकारी गराउँदा घटनास्थलमा बनकर्मीहरू पुगेर निरीक्षण गर्दा प्रथमत उक्त हात्ती हलचल नगरी मरेतुल्य अवस्थामा देखिएको थियो।
गाउँले र बनकर्मीहरू मिलेर हात्तीको शरीरमा बेरिएको बिजुली तार सबै निकालेको केही क्षणमा हात्ती विस्तारै उठेर फेरि जङ्गलतर्फ पसेको थियो। यता गाउँलेहरूले उक्त हात्तीको ज्यान बिजुलीको करेन्टले गइसकेको सम्झेको थियो तर केही क्षणमा नै हात्ती उठेर फेरि जङ्गलतर्फ जाँदा मात्र गाउँलेहरूले राहत अनुभव गरेको थियो। यता बन विभागले हात्तीको ज्यान बचाउन गाउँलेहरूले मुख्य भूमिका निर्वाह गरेकोमा गाउँलेहरूलाई धन्यवाद ज्ञापन गरेका छन।










