गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले दिल्ली भ्रमणको क्रममा आज केन्द्रिय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग उनको निजी निवासमा भेट गरे। भेटको क्रममा विशेष गरेर मुख्यमन्त्री तामाङले रम्फूमा नवनिर्मित अटल सेतु र दुईवटा परियोजना निर्माणका लागि सीमा चेकपोस्टको आवश्यकताबारे जानकारी गराएका छन्।
मुख्यमन्त्रीले केन्द्रिय मन्त्रीलाई निर्माणाधीन एनएच ५१० (लेगसेप-गेजिङ) को अलाइनमेन्टको बारेमा पनि जानकारी गराए, जुन सिरिजङ्गा फल्स र पवित्र गुफा भएर जान्छ। उक्त सडक निर्माणले स्थानीयहरूको धार्मिक भावनालाई ठेस पुऱ्याएको जिकिर गर्दै सो सडकमार्ग लिम्बू समुदायको सिरिजङ्गा झरना र पबित्र गुफा भएर जाने भएकोले यस विषयमा सोच्नु पर्ने उनले आग्रह गरे।
यस बाहेक उनले हाल सर्वेक्षण गरिएको नयाँ सडक मार्गलाई राज्य सरकारले वैकल्पिक मार्गकोरूपमा लिएको हुनाले सडक निर्माण गर्नुभन्दा अघि भूमि अधिग्रहण गर्न धनराशि आवन्टन गरिनु पर्ने बताए। मुख्यमन्त्रीले लिम्बू समुदायको धार्मिकस्थलकोरूपमा मानिने सिरिजङ्गा गुफाको महत्वबारे पनि प्रकाश पारे।
मुख्यमन्त्री तामाङको कुरालाई ध्यानपूर्वक सुनेपछि केन्द्रिय मन्त्री गडकरीले शीघ्र राष्ट्रिय राजमार्ग बुनियादी ढाँचा विकास सहयोग लिमिटेडका अधिकारीहरूलाई उक्त स्थानमा भ्रमण गर्न निर्देश दिएका छन्।
मुख्यमन्त्री तामाङको भनाई अनुसार, प्रस्तावित योजनाअनुसार वैकल्पिक समाधान गर्नुपर्ने सुझाउ दिए। केन्द्रिय मन्त्रीले मुख्यमन्त्रीद्वारा राखिएको मागलाई पूरा गर्नको निम्ति शीघ्र औपचारिकता पूरा गर्ने आश्वासन दिएका छन्।