सभासद श्याम शेर्पाद्वारा निरीक्षण
खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर १० मा दुईवटा स्थानमा पैह्रो गएको छ। वार्ड नम्बर १० को कान्ती झोडामा रहेको निर्मल लामा र मिकमा लामाको घरहरू पैह्रोको चपेटमा परेको छ। त्यसरी नै खरसाङ नगरपालिकाको वार्ड नम्बर २ को विभिन्न क्षेत्रहरूमा पैह्रो गएको जानकारी प्राप्त भएको छ। खरसाङ नगरपालिकाको वार्ड नम्बर २ र वार्ड नम्बर १० मा गएको पैह्रोको क्षेत्रीय सभासद श्याम शेर्पाले आज निरीक्षण गरेका छन्। २८ नम्बर खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा र उनको टोलीले पैह्रोको स्थलगत निरीक्षण गरेका छन्।

सभासद श्याम शेर्पासित खरसाङ देवराली समष्टिको नारी शक्तिको सभापति सुष्मा मुखिया लगायत अन्यहरू उपस्थित रहेका थिए। उनको यस भ्रमण अवधि वार्ड नम्बर १० को सभापति रवि तामाङ, पूर्व नगर पार्षदिका डोल्मा तामाङ र अन्यको उपस्थिति रहेको थियो। त्यसरी नै वार्ड नम्बर २ सभापति सन्त प्रधान साथै अन्यहरू उपस्थित रहेका थिए। उक्त पैह्रो निरीक्षण गरेपछि सभासद श्याम शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै आज खरसाङ नगरपालिकाको वार्ड नम्बर १० को दुईवटा स्थानहरू र वार्ड नम्बर २ को विभिन्न क्षेत्रहरूमा पैह्रो गएकोले आज निरीक्षण गरिएको हो भनी बताएका छन्। उनले पैह्रो गएको क्षेत्रहरूमा निरीक्षण गरेर रिपोर्ट तयार पारेको अनि यसको जानकारी जीटीए चिफ् अनित थापालाई पनि दिइएको बताएका छन्।

सभासद श्याम शेर्पाले खरसाङ नगरपालिकाको वार्ड नम्बर १० र २ को विभिन्न क्षेत्रहरूमा गएको पैह्रोको निरीक्षण गरेर रिपोर्ट तयार पारेर विभागीय पहल गरेर मरमत्ति गरिने पनि बताएका छन्।