जोरथाङमा एसडीएफ-को सीइसी-को सभा

sdf._609

जोरथाङ: सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको केन्द्रीय कार्यकारी समिति (सीइसी) को सभा दक्षिण सिक्किमको जोरथाङस्थित क्षेत्रीय कार्यालयमा सम्पन्न भयो। सभालाई पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले अध्यक्षता गरेका थिए। सभामा राज्यका वर्तमान जल्दाबल्दा विभिन्न मुद्दामाथि व्यापक चर्चा र चर्चापछि सभाले केही महत्वपूर्ण प्रस्ताव पारित गरेको पार्टीले प्रेस विज्ञप्ती जारी गरेर बताएको छ।

एसडीएफ पार्टीको सीइसी-को सभाले आज पारित गरेका प्रस्तावहरूमा समान आचार संहिता (यूसीसी) लाई समर्थन तथा विरोध जनाउन अघि सिक्किम र सिक्किमेको हित सन्दर्भमा व्यापक जाँचबुझ गर्ने प्रमुख रहेको छ। यूसीसी-लाई लिएर अन्तिम निर्णयमा पुग्न अघि यसले सिक्किम र सिक्किमेलाई संवैधानिक सुरक्षा कवच प्रदान गर्ने धारा ३७१एफ-लाई कस्तो प्रभाव पार्छ भन्ने बारेमा गहन अध्ययन र चर्चा परिचर्चा गरिनु अत्यावश्यक रहेको एसडीएफ पार्टीको अड़ान रहेको छ। यसरी नै एसडीएफ पार्टीको आजको सीइसी-को सभाले राज्यमा लोकसभा र राज्यसभाको आसन सङ्ख्यामा वृद्धिको प्रस्ताव पारित गरेको छ। राज्यको लोकसभा र राज्यसभा आसनमा एउटा-एउटा वृद्धि गरेर दुईवटा लोकसभा र दुईवटा राज्यसभा गरी जम्मा चारवटा आसन बनाइनुपर्ने पार्टीको अड़ान रहेको छ।

हालको समय राज्यमा कानुन व्यवस्था पूर्णरुपले ध्वस्त भएको छ भन्दै राज्यमा राष्टपति शासन लागु गरिनुपर्ने प्रस्ताव पनि पारित गरेको छ। राज्यमा हालको दिनमा कथित रुपमा बड़दो हिंसाका घट्नाहरूलाई उद्धृत गर्दै पार्टीले संविधानको धारा ३५६ अन्तर्गत राष्ट्रपति शासनको माग गरेको हो। यसरी नै आजको सभाले राज्यमा इन्नर लाइन पर्मिट लागु गरिनुपर्ने, महिला सशक्तिकरणलाई बड़ावा दिनुपर्ने, पुरानो पेन्सन योजना लागु गर्नुपर्ने, राज्य विधानसभामा सङ्घ आसनलाई एकबाट बड़ाएर दुई गरिनुपर्ने, लिम्बू तामाङलाई विधानसभामा जनजाति आसन आरक्षण, छिटेका १२ जातिलाई जनजातिको मान्यता, कर्मापा उगेन थिन्ले दोर्जीको सिक्किम आगमन, संविधानको धारा ३७१एफ-को रिभिजिट, एक भोट एक रोजगार योजना आदि विषयमाथि पनि गहन चर्चा गरेर प्रस्ताव पारित गरिएको पार्टीले विज्ञप्तीमा उल्लेख गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement