बाग्राकोट: डुवर्सका विशिष्ट कवि अनन्त श्रेष्ठको पहिलो कविता सङ्ग्रह ‘सत्ता र समय’ बाग्राकोटमा विमोचित भएको छ। भानु जयन्तीको अवसर पारेर डुवर्सका प्रतिष्ठित कविको पुस्तक विमोचन भएको हो। कार्यक्रमलाई वरिष्ठ साहित्यकार गोपालसिंह विश्वले अध्यक्षता गरेका थिए भने सिक्किमका व्यङ्ग्य साहित्यकार तथा विशिष्ट बुद्धिजीवी एमएन दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। नवनिर्मित भानु मञ्चमा आयोजित कार्यक्रममा डुवर्स नेपाली साहित्य विकास समितिका मूल सचिव रविन खवास, कथाकार अशोक रोका, वरिष्ठ साहित्यकार शङ्कर प्रधान, डुवर्स नेपाली साहित्य विकास समितिका कोषाध्यक्ष राजेश प्रधान, सिक्किम विश्वविद्यालयका पीएचडी शोधार्थी रुद्र छेत्री, जलपाइगढ़ी जिल्ला परिषदकी पूर्व कर्माध्यक्ष सलिना छेत्री, बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मा, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका अध्यक्ष एवं कथाकार मदन खड़्का, शिक्षक रतन मगरलगायतका व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।

अतिथिगणका बाहुलीबाट पुस्तक विमोचन भएपछि पुस्तक र कविबारे संक्षेपमा चर्चा गर्दै विकास समितिका मूलसचिव तथा अनन्त श्रेष्ठका अभिन्न मित्र रविन खवासले श्रेष्ठ स्वयं कविताका विषयवस्तु भएको बताए। अनन्त श्रेष्ठका काव्यिक यात्राले तीन दशक टेक्नै लाग्दा मात्र उनको सङ्ग्रह प्रकाशन भएको अवगत गराउँदै ढिलै भए पनि कृति प्रकाशमा आएकोले उनले हर्ष जताए। नेपाली भाषा, शिक्षा र साहित्यका खातिर अनन्त श्रेष्ठले गरेका साहसिक कार्यहरूको खवासले उल्लेख गरे। खवासले भने, एकताक नेपाली स्कूल खोल्नु सत्ताको विरोध गर्नु जस्तै हुन्थ्यो। अनन्त श्रेष्ठको अगुवाइमा डुवर्समा १७ दिने साइकल ऱ्यालीको आयोजन भएको थियो। अनन्तका कवितामा हाम्रै डुवर्सका जीवन पाइन्छ। उल्लेखनीय छ, माल कलेजमा नेपाली विभाग स्थापनाका लागि अनन्त श्रेष्ठको साहसिक कदम डुवर्सेली शैक्षिक आन्दोलनमा एक ऐतिहासिक घटनाको रूपमा दर्ता भएको छ। कवि श्रेष्ठले आफ्ना कविताहरू समसामयिक भावधाराका भएकाले ती दीर्घकालीन महत्त्वका नहुनसक्छन् भन्ने लागेर पुस्तक निकाल्न ढिलाइ गरेको बताए। आत्मीय साथीहरूको प्रोत्साहन, सुझाउ र आग्रहले सङ्ग्रह निकाल्न प्रेरित भएको जनाउँदै आफूलाई प्रेरित गर्ने केही व्यक्तिहरूको पनि उनले नाम लिए। तीन दशकपछि आफ्नो कविता छापिएकोमा उनले खुशी जाहेर गरे। कार्यक्रमका प्रमुख अतिथि एमएन दाहलले अनन्त श्रेष्ठका केही कविताका हरफहरू पढ़ेर सुनाए अनि ती कवितामा पाइने जीवन्त पक्षलाई आफ्नो वक्तव्यमा समेटे। यस अवसरमा उनले बाग्राकोट र डुवर्सका गतिविधि र ऐतिहासिक कदमहरूको मुग्धकण्ठले प्रशंसा गरे। । नेपाली भाषा सम्बन्धी कुनै साहित्य समितिले निरन्तर कुनै काम गरेको छ भने डुवर्स नेपाली साहित्य विकास समितिले गरेको छ। यसलाई राष्ट्रिय पहिचान दिनुपर्छ, उनले थप भने। डुवर्सले सर्वभारतीय स्तरमा कार्यक्रम गर्नुपर्छ भन्ने सुझाउ राख्दै दाहालले डुवर्सले गरेको भाषाको आन्दोलनलाई पनि बिर्सन नसकिने बताए। गोपालसिंह विश्वले अनन्तका कविताहरू डुवर्सेली साहित्यका निधि भएको बताए।