गान्तोकः सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएशनका खेलाड़ीहरूले राजस्थानको उदयपुरमा आयोजन हुने ‘३३औं जुनियर/सिनियर नेशनल च्याम्पियनशिप’ मा भाग लिने भएका छन्। सिक्किम राज्यलाई प्रतिनिधित्व गर्दै ३० सदस्यीय टोलीले उक्त प्रतियोगितामा भाग लिने छन्।
राजधानीमा आज आयोजित एक संवाददाता सम्मेलनमा संघका प्रमुख प्रशिक्षक पेमा भोटियाले राजस्थानको उदयपुरमा आगामी २६ देखि ३० जुलाईसम्म ३३औं जुनियर/सिनियर नेशनल च्याम्पियनशिप आयोजना भइरहेको जानकारी गराए। उक्त प्रतियोगितामा सिक्किमबाट प्रबन्धक लगायत ३० जनाले सहभागिता जनाइरहेको उनले बताए। प्रतियोगितामा १९ जना पुरुष र १० जना महिलाले विभिन्न वजन वर्गमा भाग लिनेछन्। उनले गत १७ जूनका दिन मुख्यमन्त्रीले वितरण गरेको प्रोत्साहन राशि संघका २६ जना खेलाडीले पनि पाएको बताउॅंदै मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे।
संघकी प्रबन्धक सीमा प्रधानले यसपाली प्रतिभागीहरूमा नयॉं खेलाडीहरूको संख्या अधिक रहेको जानकारी गराइन्। उनले यसपाली पनि सिक्किमका खेलाडीहरूले राम्रो प्रदर्शन गरेर धेरैभन्दा धेरै मेडलहरू लिएर आउने विश्वास व्यक्त गरिन्। सिक्किमको टोली राज्यमा २३ जुलाईमा राजस्थान प्रस्थान हुने बताइएको छ।