अलिपुरद्वार: पर्यटकहरू अब साइकलमा चडेर डुवर्स मजाले घुम्न सक्नेछन्। अलिपुरद्वार जिल्ला प्रशासनले आज दमनपुरबाट राजाभातखावासम्म पर्यटकहरूको लागि साइकलको व्यवस्था गरिदिएको छ। यसको लागि पर्यटकहरूले भ्रमण केवल ५० रुपियाँमा साइकलको शुल्क तिरेर बक्सा जङ्गल इलाका घुम्न सक्नेछन्। आज अलिपुरद्वार जिल्ला प्रशासनद्वारा ‘डुवर्स ”दर्शन’ नामक एउटा परियोजनाको माध्यमद्वारा बक्सा बाघ प्रोजेक्टको राजा भातखावा इलाकाको एउटा स्वनिर्भर समूहलाई ५ वटा साइकल प्रदान गरियो।
अबदेखि पर्यटकहरू साइकलमा सवार भएर बक्सा बाघ प्रोजेक्टको सुन्दर प्राकृतिक दृश्यको आनन्द लिन सक्नेछन्। आज बिहानदेखि दमनपुर इलाकाबाट उक्त परिसेवाको शुभारम्भ गरियो। यस अवसरमा जिल्लाशासक सुरेन्द्र कुमार मीणा, अतिरिक्त जिल्ला शासक स्मृति रञ्जन महन्ती र परियोजनाका अतिरिक्त क्षेत्र अधिकारी प्रवीण कासवान लगायत अन्य अधिकारीहरू उपस्थित थिए।