गान्तोक: सिक्किम ड्रग युजर्स फोरम, एआरके फाउन्डेसन र टीएजीको संयुक्त पहलमा आज राजधानीस्थित एक होटलमा क्षयरोग रोकथाम र उपचार सम्वन्धी अभिमुखी कार्यक्रम सहित पत्रकार सम्मेलन आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम ड्रग युजर्स फोरमका सदस्य प्रशान्त शर्माले विश्व स्वास्थ संगठनको आँकडा अनुरूप भारतदेश क्षयरोगको मामिलामा १३औं स्थानमा रहेको बताए। विशेष गरेर यो रोगले एचआइभी लागेका मानिसहरूलाई प्रभावित तुल्याउने अवगत गराए। क्षयरोग एक सरूवा रोग भएको कारण यसले विश्वका मानिसहरूलाई नै मृत्युको चपेटमा पारेको र अहिलेसम्म यस रोगबाट धेरै मानिसहरूले प्राण गुमाइसकेको जानकारी गराए। एचआइभी एडस् भन्दा क्षयरोगले यो संसारमा अधिक मानिसहरूको मृत्यु भएको शर्माले किटान गरे। उल्लेखनीय छ, देशका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी २०२५ सम्म देशलाई क्षयरोगमुक्त बनाउने उद्देश्यले क्षयरोगमुक्त भारतको अभियान ९ सेप्टेम्बर २०२२ मा शुरू गरेको छ।
यसै क्रममा संस्थाका संयोजक छेवाङ शेर्पाले वर्तमान परिपेक्ष्यमा क्षयरोगको उपचार र रोकथामबारे विस्ततृरूपमा जानकारी गराए। उनले यस रोगबाट बाँच्न सक्ने उपाय र रोकथामबारे विभिन्न प्रकारको औषधिको अविष्कार गरिएको अवगत गराए।