नयाँ दिल्ली: टमाटरको मूल्य बढेपछि सर्वसाधारणको थालबाट यो गायब भएको छ। पछिल्ला केही दिनयता देशका विभिन्न भागमा टमाटरको मूल्य प्रतिकिलो २०० रुपियाँसम्म पुगेको छl टमाटरको मूल्य बढेपछि सर्वसाधारणलाई समस्या परेको छ भने महाराष्ट्रको पुणेका एक किसानले यसका कारण करोडपति बनेका छन्। भागोजी गायकर नामका किसानले टमाटर बेचेर मात्रै डेढ करोड रुपियाँ आम्दानी गरेका छन्। १३ हजार क्रेट टमाटर बिक्री गरेर यो आम्दानी भएको हो।
कृषक भागोजी गायकरको कुल १८ ऐकरभन्दा बढी खेतीयोग्य जमिन छ। यसबाट उनले परिवारको सहयोगमा १२ ऐकर जमिनमा टमाटर खेती गर्छन्। यो वर्ष उनको फार्ममा टमाटरको राम्रो फसल फलेको छ, जसको बजारमा राम्रो मूल्य पनि पाएको छ। भागोजी गायकरले अहिले एक क्रेट टमाटर बेचेर २ हजार १ सय रुपियाँ आम्दानी गरिरहेको बताए। यस्तो अवस्थामा शुक्रबार नौ सय क्रेट टमाटर बिक्री गरेर उनले एकै दिन १८ लाखभन्दा बढी आम्दानी गरेका छन्। नारायणगञ्जमा पछिल्लो एक महिनामा टमाटरको मूल्य एक हजारदेखि दुई हजार चार सय रुपियाँसम्म रहेको उनले बताए। भागोजी गायकरको आम्दानीलाई हेरेर यस क्षेत्रका अन्य कृषकले पनि आगामी दिनमा राम्रो आम्दानी गर्न सक्ने गरी टमाटर खेती गरिरहेका छन्। स्थानीय समितिका अनुसार पछिल्लो एक महिनामा टमाटर बिक्रीबाट किसानले ८० करोडभन्दा बढी आम्दानी गरेका छन्।
यो उल्लेखनीय छ, महाराष्ट्र मात्र होइन, कर्नाटक जस्ता राज्यका किसानहरूले पनि पछिल्लो एक महिनामा टमाटर बेचेर लाखौं र करोडौं आम्दानी गरेका छन्। कर्नाटकको कोलारका एक किसानले टमाटरको दुई हजार बक्स मात्रै बेचेर ३८ लाख रुपियाँ आम्दानी गरेका छन्। ध्यान दिनु पर्ने कुरा के छ भने देशभर टमाटरको मूल्य बढेपछि सरकारले विभिन्न कदम चालेको छ। राष्ट्रिय सहकारी उपभोक्ता महासंघ (एनसीसीएफ) ले विभिन्न राज्यमा टमाटर प्रतिकिलो ९० रुपियाँमा बिक्री गरिरहेको छ। महासंघले आन्ध्र प्रदेश, कर्नाटक र महाराष्ट्रबाट टमाटर खरिद गरिरहेको छ।