कोलकाताः पश्चिम बंगालमा करोड़ौं रूपियाँको पशु तस्करी घोटालाको जाँच गरिरहेको केन्द्रिय जाँच ब्यूरो (सीबीआई) न्यायिक हिरासतमा रहेका तृणमूल कांग्रेस नेता अणुव्रत मण्डलसित सोधपुछ गर्नका लागि फेरि शुरूदेखि अनुमति माग्नेछ।
सूत्रहरू अनुसार, केन्द्रिय एजेन्सीका अधिकारी मण्डल र उनका परिवारका सदस्यहरूको नाममा पंजीकृत नयाँ सम्पत्तिको पत्तो लगाएपछि यस नयाँ कदममाथि विचार भइरहेछ।
तृणमूल कांग्रेसका बीरभूम जिल्लाका अध्यक्ष मण्डल करोड़ौं रूपियाँको पशु तस्करी मामिलामा कथित संलिप्तताको क्रममा वर्तमानमा नयाँ दिल्लीको तिहाड़ जेलमा न्यायिक हिरासतमा छन्। मण्डल, उनको परिवारका सदस्यहरू र निकटतम सहयोगीहरूको नाममा ताजा सम्पत्तिहरूमा पेट्रोल पम्प, जमीन र चामल मिलहरू सामेल छन्। केन्द्रिय एजेन्सीका उकीलले जाँच अधिकारीहरूद्वारा नयाँ सम्पत्ति जफत गरिनुबारे पश्चिम बर्दवान जिल्लाको आसनसोलमा सीबीआईको एक विशेष अदालतलाई अगावै सूचित गरेको छ।
सीबीआईको उकीलले विशेष रूपमा मण्डलकी छोरी सुकन्या मण्डलको नाममा पंजीकृत एउटा पेट्रोल पम्पको उल्लख गरेको छ, जुन सत्तारूढ़ पार्टीका प्रबल नेताका निकटतम सहयोगी विद्युत बरन गायेनको साथ संयुक्त रूपमा पंजीकृत छ। यस बाहेक एक रियल एस्टेट निर्माण कम्पनीको खाताहरूमा भारी लेनदेन पनि सीबीआईको नजरमा आएको छ। यो मण्डलको पूर्व अंगरक्षक सहगल हुसैनको ज्वाईको नाममा पञ्जीकृत छ। सुकन्या मण्डल र सहगल हुसैन दुवै वर्तमानमा नयाँ दिल्लीको तिहाड़ जेलमा न्यायिक हिरासतमा छन्।
-हिस