दार्जिलिङ: जोरबङ्लो सुखिया पोखरी पञ्चायत समिति अधीनस्थ सुखिया सिमाना ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बहुमत रहेको जानकारी पार्टीका प्रवक्ता केशवराज पोख्रेलले दिएका छन्। आज सुखिया सीमानाका तीन निर्दलीय विजेताहरु अनिल तामाङ (मानेभञ्ज्याङ), मिना गुरुङ थापा (सिमाना) अनि छेकी शेर्पा (सुखिया) भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको उपस्थितिमा पार्टीमा सामेल भएका छन्।
तीन निर्दलिय उम्मेदवारहरुको समर्थन पश्चात अब ग्राम पञ्चायतमा बीजीपीएमको विजेता सदस्यहरूको संख्या ६ पुगेको छ। यस अघि सिमाना ग्राम पञ्चायतको संख्या निर्दलीय ७ अनि बीजीपीएम 3 रहेको थियो। ग्राम पञ्चायतको बोर्ड अब बीजीपीएमले बनाउने निश्चित रहेको पार्टीका केन्द्रिय प्रवक्ता केशवराज पोख्रेलले जानकारी दिएका छन्।

निर्दलीय विजेताहरुलाई पार्टीमा स्वागत गर्दै पार्टी अध्यक्ष अनित थापाले भने, “राजनीतिमा जोड्नु अनि घटनुको क्रम चलि नै रहन्छ। उहाँहरू गाउँको विकास गर्न चाहन्छन्। ठूलो रुखको छहारीमा रहेर नै उहाँहरू अघि बढ्नु चाहन्छन्। उहाँहरूको निर्णय ग्रामवासीको हितमा रहेका छन्। उहाँहरुको निर्णयलाई कदर गर्दै म पार्टीमा स्वागत गर्दछु। वास्तवमा दुईजना विजेताहरु घर फर्कनु भएको हो अनि एकजना हामीसँग जोडिनु भएको हो।”
सामेल भएको समय क्षेत्रका सभासद उदय देवानको विशेष उपस्थिति रहेको थियो। भेटघाट कार्यक्रम अध्यक्षको पिन्टेलभिलेज स्थित वासस्थानमा भएको थियो।