खरसाङ: खरसाङ शहरलाई बाँदरमुक्त बनाउन तथा बाँदरको रगरगीदेखि मुक्त गराउनलाई प्रशासनिक रुपमा दोस्रो सचेतना रैली आयोजना गरिएको छ। खरसाङ महकुमा शासकको पहलमा गत महिनादेखि बाँदरको रगरगी रोक्नलाई खरसाङमा चलिरहेको सचेतना रैली अन्तर्गत आज पनि दोस्रो चरणको लागि सचेतना रैली सम्पन्न गरिएको छ। खरसाङ बजारलाई बाँदरको रगरगीदेखि मुक्त गराउनलाई प्रत्येक महिनाको एक शनिवार सचेतना रैली आयोजना गरिने भएको कारणले आज खरसाङ बजारमा बाँदरको रगरगी रोक्नलाई सचेतना रैलीको आयोजना गरिएको छ। आजको रैलीमा महकुमा शासन कार्यालयको अधिकारीहरू, वन विभाग, स्वस्थ्य विभाग, नगरपालिका, व्यवसाय संगठन, वरिष्ठ नागरिक संगठन लगायत विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। उक्त रैली खरसाङको रेलवे स्टेशनबाट शुरु भएर हिलकार्ट रोड हुँदै वर्ध्दमान रोड भएर पुनः मोटर स्ट्याण्ड हुँदै रेलवे स्टेशन परिसरमा आएर सचेतना कार्यक्रममा परिणत भएको थियो। उक्त सचेतना कार्यक्रमलाई खरसाङ महकुमा शासकको सचिव राम प्रधानले सञ्चालन गरेका थिए भने खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, वन विभागबाट वन अधिकारीले वक्तव्य राखेका थिए। यस अवसरमा बोल्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बाँदरको रोगरगी रोक्नलाई दोस्रो चरणको सचेतना रैली आज सम्पन्न भएको र यसको मुख्य उद्देश्य खरसाङ बजारमा बाँदरको रगरगीदेखि मुक्त गराउनलाई रहेको बताएका छन्। उनले बाँदरको रगरगी रोक्नलाई प्रशासनिक रूपमा सचेतना रैली आयोजना गरेर मात्र हुँदैन तर जनताले पनि बुझ्नुपर्छ र जनताको पनि दायित्व बन्छ भनी बताएका छन्। उनले मानिसहरूले बादरलाई खाना नदिनु पर्ने तथा दोकानदारहरूले पनि दोकानबाहिर फलफूलहरू बिक्रीमा नराख्नु पर्ने नत्र सिसि टिभी क्यामेराको सहयोगमा कार्वाही गरिने भनी बताएका छन्। उक्त सचेतना रैलीपछि सम्पन्न कार्यक्रमलाई अन्यले पनि सम्बोधन गरेका थिए।