भानुभक्त विश्व साहित्यका निमार्ता हुन्: डा. कृष्णराज घतानी
सुकना: भानुभक्तले आजभन्दा लगभग दुइ सय वर्षअघि आजको नेपाली भाषाको जग बसालेका थिए। भानुभन्दा अघि पनि केही कविहरू थिए तर उनीहरूको प्रभाव जन मानसमा त्यति पर्न सकेन तर भानुभक्तले लेखेको रामायण र अन्य फुटकर कविताहरूले त्यसबेलादेखि आजसम्मै विश्वकै जन मानसमा ठूलो प्रभाव पारेको छ। यसैले भानुभक्तलाई विश्व साहित्यका निर्माता मान्न सकिन्छ। नेपाली समाजमा उनको प्रभाव सर्वोपरी छ। उक्त मन्तव्य गत् १३ जुलाईको दिन सुकना साहित्यिक सांस्कृतिक संस्थानको आयोजनामा सुकनास्थित सार्वजनिक भवनमा संस्थानका सभापति सूर्यमणि शर्माको अध्यक्षतामा सम्पन्न २०९औं भानु जयन्ती समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि तथा उत्तर बङ्ग विश्वविद्यालय नेपाली विभागका अवकाशप्राप्त प्रोफेसर डा. कृष्णराज घतानीले व्यक्त गरेका हुन्। आफ्नो सम्बोधनमा नेपाली भाषा साहित्यमा भानुभक्तको योगदान र वर्तमान समयमा नेपाली भाषाको उपयोगिता बारेमा गहन विचारहरू व्यक्त गरेका थिए। उनले भानुभक्तलाई नेपाली साहित्यको मात्रै नभएर विश्व साहित्यकै निर्माताको रुपमा मूल्याङ्कन गरिनुपर्ने कुरो बताएका थिए। समारोहमा उत्तर बङ्ग विश्वविद्यालयकै शोधार्थी नारायण शर्माले भानुभक्तको व्यक्तित्व- कृतित्वमाथि विशद् वार्ता प्रस्तुत गरेका थिए। समारोहका सभापति, प्रमुख अतिथि एवम् विशिष्ट अतिथिहरुद्वारा भानुभक्त आचार्य र संस्थानका संस्थापक सचिव स्व. एस. के. छेत्रीको प्रतिकृतिमा माल्यार्पण एवम् दीप प्रज्वलन भई शुआरम्भ भएको समारोहमा संस्थानका मूल सचिव जे.बी.बस्नेतले स्वागत वक्तव्य प्रस्तुत गर्दै संस्थानका गतिविधिहरू बारेमा जानकारी दिएका थिए। गडविन मोर्डन स्कूल मेथीबारीका विद्यार्थीहरूद्वारा रामायण पाठ, लोक नृत्य, लोक गीत र कविता आवृत्ति गरेका थिए भने, बिकन पब्लिक स्कूल, इडेन गार्डन अङ्ग्रेजी स्कूल र सुकना हाई स्कूलका विद्यार्थीहरूले नृत्य, कविता वाचन आदिमा भाग थिए। समारोहमा यस वर्ष माध्यमिक परीक्षामा नेपाली विषयमा सर्वोच्च अङ्क हासिल गर्ने सुकना हाई स्कूलका आदित्य ठाकुर र बिकन पब्लिक स्कूलका मेनुका छेत्री अनि उच्चतर माध्यमिक परीक्षामा सर्वोच्च अङ्क ल्याउने सुकना हाई स्कूलका निलाञ्जना बराईकलाई प्रा. मेघनाथ छेत्रीद्वारा उनका पिता स्व.रामबहादुर छेत्रीको स्मृतिमा प्रदान गरिएको नेपाली भाषा पुरस्कार र प्रशस्ति पत्र संस्थानको तर्फबाट दिइएको थियो। प्रशस्ति पत्रलाई शिक्षकद्वय सागर शर्मा र कृष्ण छेत्रीले पठन गरेका थिए। समारोहमा गडविन स्कूलका विद्यार्थीहरूले पुर्याएको योगदानको कदर गर्दै कृतज्ञता पत्र सहित समाजसेवी श्रीमती मीरा राईद्वारा प्रायोजित उपहार विद्यार्थीहरूलाई प्रदान गरेका थिए। संगीतकार के. के. विश्वकर्माले स्वागत गीत, स्तुति दियाली र शर्मिला दियालीले सुमधुर नेपाली गीत प्रस्तुत गरेका थिए। नवराज छेत्री र प्रा.मेघनाथ छेत्रीद्वारा सञ्चालित उक्त समारोहमा के. के. विश्वकर्मा, श्रीमती ज्योतिका छेत्री, श्रीमती बिन्दिया राई, विद्यार्थी सागर शर्मा आदिले स्वरचित कविता- गजल आदि पठन गरेका थिए। समारोहमा विशिष्ठ अतिथिको रुपमा साहित्यकार श्रीमती मातृका गजमेर लगायत सुकना क्षेत्रका विभिन्न संङ्घ – संस्थाका पदाधिकारी र सदस्य- सदस्याहरूको बाक्लो उपस्थिति रहेको थियो।
भानु जयन्तीकै दिन संस्थानका दुइ सदस्यमध्ये राजा पुनियानीलाई कालेबुङमा भाइचन्द स्मृति पुरस्कार र शिबु छेत्रीलाई पश्चिम सिक्किममा स्रष्टा पुरस्कार प्रदान भईरहेको बेला यता पनि करतल ध्वनिले खुशी व्यक्त गरिएको थियो। धन्यवाद ज्ञापन संस्थानका कोषाध्यक्ष कृष्ण छेत्रीले गरेका थिए। सूर्यमणि शर्माले अध्यक्षीय सम्बोधनमा संस्थानद्वारा यस वर्ष भानु जयन्ती अलिक भव्य रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका थिए।