तीन दिनमै वेष्ट इण्डिजको पतन, भारत ईनिंग्स र १४१ रनले विजयी

IMG-20230715-WA0150.jpg

१५ जुलाईः ओपनरद्वय यशस्वी जयसवाल (१७१)र कप्तान रोहित शर्मा (१०३)-को उत्कृष्ट ब्याटिंगपछि रविचन्द्रन अश्विनको विध्वंशी बलिंगको सहायताले भारतले पहिलो टेस्ट म्याचमा वेष्ट इण्डिजलाई ईनिंग्स र १४१ रनको ठूलो अन्तरले पराजित गऱ्यो। तीन दिनमै हासिल भएको यस जीतको साथ भारतले दुईवटा टेस्ट म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। एशिया बाहिर यो भारतको ईनिंग्स र रनको आधारमा अहिलेसम्मको सबैभन्दा ठूलो जीत हो। यसअघि यशस्वी जयसवाल पदार्पण टेस्टमै १५० भन्दा अधिक रन बनाउने तेस्रो भारतीय बने। यसको साथमा विराट कोहलीको अर्द्धशतकको साथ भारतले डोमिनिकाको विण्डसर पार्कमा खेलिएको पहिलो टेस्टमा ५ विकेटमा ४२१ रन बनाएर पहिलो ईनिंग्स घोषित गऱ्यो। पहिलो ईनिंग्सको आधारमा २७० रनले पछि रहने वेष्ट इण्डिजको दोस्रो ईनिंग्स पनि १३० रनमै समाप्त हुँदा भारतले सजिलै म्याच जित्यो। भारतको यस जीतमा सीनियर अफ् स्पिनर अश्विनको महत्त्वपूर्ण भूमिका रह्यो। अश्विनले पहिलो ईनिंग्समा ५ विकेटको साथमा दोस्रो ईनिंग्समा पनि ७ विकेट हासिल गरे। यसरी उनले पूरा म्याचमा १२ विकेट हासिल गरे।
दोस्रो ईनिंग्समा पनि आयोजक टीमको दुर्दशाः
पहिलो ईनिंग्समा केवल १५० रन बनाउने आयोजक टीमको दोस्रो ईनिंग्समा पनि शुरुवात निराशाजनक रह्यो। केवल ३२ रनमा शीर्ष चार विकेटको पतनपछि तेस्रो दिन नै वेष्ट इण्डिजको हार हुने तय भयो। रविन्द्र जडेजाले टेगनारिन चन्द्रपल (७)-लाई एलबीडब्ल्यू गरी भारतलाई दिनको पहिलो सफलता दिलाए। त्यसपछि अश्विनले लगातार अन्तरालमा कप्तान क्रेग ब्रेथवेट (७) र जेरेमी ब्ल्याकवुड (५)-को विकेट लिए। लगातार विकेटको पतनबीच एलिक एथानाजे (२८) र जेसन होल्डर (अविजित २०)-ले केही बेर संघर्ष गरे पनि भारतलाई जीत हासिल गर्नदेखि रोक्न सकेनन्। अश्विनबाहेक जडेजाले २ र मोहम्मद सिराजले १ विकेट हासिल गरे।
जयसवालको असाधारण ब्याटिंगः
यसअघि भारतले दोस्रो दिनको स्कोर २ विकेटमा ३१२ रनदेखि अघि खेल्न शुरु गऱ्यो। उनले दिनको पहिलो सत्रमै आफ्नो १५० रन पूरा गरे। यसको साथै उनी आफ्नो पदार्पण टेस्टमै १५०-को स्कोर पार गर्ने शिखर धवन (१८७) र रोहित शर्मा (१७७) पछि तेस्रो भारतीय बने। जयसवाल र विराट कोहलीले मिलेर तेस्रो विकेटको निम्ति ११० रनको पार्टनरशीप गरे। दोहोरो शतकको दिशामा अग्रसर जयसवाल अन्तमा अल्जारी जोसेफको शिकार बने। उनले ३८७ बल खेलेर १६ वटा चौका र एउटा छक्का लगाए। त्यसपछि अजिंक्य रहाणे केवल ३ रन बनाएर आउट भए। असल लयमा देखिएका कोहली ७६ रन बनाएर आउट भएको केही बेरपछि कप्तान रोहित शर्माले पहिलो ईनिंग्स घोषित गरे। कोहलीले १८२ बल खेलेर ५ वटा चौका लगाए। रविन्द्र जडेजा ३७ रनमा अविजित रहे। जयसवाललाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement