पाकिमः राज्य वन तथा पर्यावरण विभागले आयोजना गरेको दुई हप्ताव्यापी राज्यस्तरीय ‘सिक्किम पर्यावरण पर्व’ आज समाप्त भएको छ। समापन दिनको शुरूवात एसएसबी ६९औं बटालियनको संयुक्त तत्वावधानमा वृक्षरोपणद्वारा गरिएको थियो।
पाकिम जिल्लाको रंगेली सामुदायिक हलमा आयोजित समापन कार्यक्रममा विधायक केबी राई मुख्य अतिथि थिए। मुख्य अतिथि राईले वर्तमान समयमा मरो रुख मेरो सन्तति र वृक्षरोपणको महत्वमाथि प्रकाश पारे। उनले रुखपात रोप्नु पर्यावरण संरक्षणको निम्ति मात्र महत्वपूर्ण नभएर लचिलो अनि स्वस्थ पारिस्थितिकी तन्त्रको निम्ति पनि आवश्यक रहेको बताए।
यसरी नै सीसीएफ (टी) नीमा वाङ्गदीले पर्यावरणको उच्च महत्वमाथि बोल्दै पर्यावरण संरक्षण र जैवविविधताको संरक्षणको महत्वमाथि प्रकाश पारे। उनले प्राकृतिक संसाधनहरू, पारिथितिकी तन्त्र र प्रकृतिको नाजुक सन्तुलनको सुरक्षा गर्नु अत्यन्त आवश्यक रहेको बताए। जलवायु परिवर्तन र ग्लोबल वार्मिङमाथि बोल्दै उनले यसका प्रतिकूल प्रभावहरूको सामना गर्न वृक्ष रोपणको भूमिका महत्वपूर्ण रहेको अवगत गराए।

कार्यक्रममा लाभार्थीहरूलाई विरुवाहरू र मेरो रुख मेरो सन्तति प्रमाणपत्रहरू पनि वितरण गरिएको थियो। यस अवसरमा विद्यार्थीहरूलाई लिएर पर्यावरण सम्बन्धित विभिन्न प्रतियोगिताहरू पनि आयोजना गरिएको थियो।