अनित थापाद्वारा पञ्चायत प्रधानको लागि मोहनकुमार प्रधानको नाम घोषणा
खरसाङ: खरसाङ खण्ड अन्तर्गत पर्ने शिवखोला ग्राम पञ्चायतबाट निर्दलीय प्रार्थीको रुपमा बिजय हाँसिल गरेका अर्को एकजना निर्दलीय प्रार्थी पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। शिवखोला ग्राम पञ्चायतको सिपाहीधुरा चियाबारीबाट निर्दलीय प्रार्थीको रुपमा पञ्चायत सदस्यको सिटमा बिजय हाँसिल गरेका मोहनकुमार प्रधान (एमके प्रधान) आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका हुन्। उनलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले खदार्पणसहित पार्टीमा स्वागत जनाएका छन्। यस अवसरमा बोल्दै भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले शिवखोला ग्राम पञ्चायतको लागि मोहनकुमार प्रधान नै पञ्चायत प्रधान हुन् भनी घोषणा पनि गरेका छन्। उनले शिवखोला ग्राम पञ्चायत अन्तर्गत सिपाहीधुरा चियाबारीबाट निर्दलीय प्रार्थीको रुपमा बिजय बनेका मोहनकुमार प्रधान भागोप्रमो पार्टीकै व्यक्ति थिए। उनको छोरा पनि युवा शक्तिको पदाधिकारी थिए। तर पार्टीबाट टिकट नपाएर निर्दलीय प्रार्थीको रुपमा चुनाव मैदानमा उत्रेका थिए र बिजय पनि बनेका छन्। आज उनी पुन: पार्टीमा नै आएकोले यो उनको घर वापसी हो भनी बताएका छन्। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै मोहनकुमार प्रधानले म पहिलेदेखि नै भागोप्रमो पार्टीमा नै थिए तर चुनावमा पार्टीले टिकट नदिएकोले जनताले नै मलाई चुनावमा उठाएको थियो र मैले जितेको थिए। तर जनताको सबै आकांक्षाहरू पूरा गर्नलाई पहाड़को सत्तारूढ़ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चासित मिलेर कार्य गर्नलाई आज पार्टी अध्यक्ष अनित थापालाई भेटेर सामेल भएको बताएका छन्। उनले आफु शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान भएर जनताको सेवा गर्ने लक्ष्य राखेको बताएका छन्। मोहनकुमार प्रधान भागोप्रमोमा सामेल भएको समय भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, मनोहर थापा लगायत अन्यहरू उपस्थित रहेका थिए। छवटा पञ्चायत सिटहरू रहेको शिवखोला ग्राम पञ्चायतमा यसपालीको पञ्चायत चुनावमा भागोप्रमोले दुई, निर्दलीय प्रार्थीहरू चारजना बिजय बनेका थिए। तर हिजो एकजना र आज एकजना गरी जम्मा दुईजना निर्दलीय प्रार्थीहरू भागोप्रमोमा सामेल भएपछि भागोप्रमोको चारजना पञ्चायत सदस्यहरू बनेपछि शिवखोला ग्राम पञ्चायतमा भागोप्रमोको बोर्ड सजिलै बनिने देखिएको छ।