रूम्तेक दुर्गा मन्दिर परिसरमा भव्यताका साथ २०९औं भानु जयन्ती पालन

bjr_989

गान्तोकः सृजनात्मक वैचारिक मञ्च रुम्तेकद्वारा श्री दुर्गा मन्दिर प्रेक्षागृहमा २०९औं भानु जयन्ती भव्य रुपमा आयोजना गरियो। यस कार्यक्रममा मुख्य अतिथि मिना सुब्बा रहेकी थिइन भने विशिष्ट अतिथिमा अवकाशप्राप्त शिक्षिका कला खरेल तथा वार्ड पञ्चायत अम्रिका छेत्रीका साथमा प्रणिता सिञ्चुरी रहेकी थिइन्। कार्यक्रमलाई सृजनात्मक वैचारिक मञ्चका संरक्षक हरीकुमार निरौलाले अध्यक्षता गरेका थिए।

कार्यक्रममा भानुभक्त र उनका कृतिहरूमाथि मञ्चका अध्यक्ष शिवप्रसाद नेउपानेद्वारा प्रकाश पार्दै भानुभक्तले केवल रामायण मात्र नभए अन्य धेरै कृतिहरू लोकलाई दिएको जानकारी गराउँदै प्रश्नोत्तर भक्तमाला साथै अरु रचनाहरूको पनि उत्तिकै मुल्यांकन गरिनुपर्छ भन्ने अभिव्यक्ति राखेका थिए। कार्यक्रममा रूम्तेक दुर्गा मन्दिरका गुरुजी जीवन खनालद्वारा रामगीता पाठ गरियो भने मधुर कण्ठमा रामायण पाठ उमा छेत्री र सबिता छेत्रीले गरे। रुम्तेक वैदिक गुरुकुलका विद्यार्थी अभिनय सापकोटाद्वारा योगासनको प्रस्तुति रहेको थियो भने गौरीशंकर नेउपाने तथा खड्ग बहादुर छेत्रीद्वारा कवित् दोहोरी प्रस्तुत गरिएको थियो। चन्द्रप्रकाश नेपालद्वारा भक्तमालाका साथ स्वरचित कविता पाठ गरियो।

कार्यक्रममा मारुनी नृत्य, बाल नृत्यका साथै कविताहरू पनि प्रस्तुत गरिएको थियो। कविता वाचनमा दिपांशु नेउपाने, लुइस भोटिया, हरिभक्त पौड्याल, मुना बराल आदि रहेका थिए भने मधु खतिवडाद्वारा तत्काल पुरस्कार सहित प्रश्नोत्तर कार्यक्रम राखिएको थियो। सभाध्यक्षको सम्बोधनमा हरीकुमार निरौलाद्वारा भानुभक्त जयन्तीको किन महत्व छ भन्ने विषयमा प्रकाश पार्दै भानु जयन्तीले हाम्रा संस्कृतिलाई बचाइ राख्न एक ठूलो भूमिका निर्वाह गरेको बताए। सृजनात्मक वैचारिक मञ्चको आजको यस कार्यक्रममा उपस्थित रहेका तमाम दर्शकवृन्दमा आह्वान गर्दै सृजनात्मक वैचारिक मञ्चमा सामेल भई साहित्यको यस यात्रालाई अविरल राख्ने आह्वान गरे।

मुख्य अतिथि मिना सुब्बाद्वारा आफूलाई मुख्य अतिथिका रुपमा निमन्त्रणा गरिएकोमा मञ्चलाई धन्यवाद प्रकट गर्दै बाल साहित्यको जगेडा गर्दै अघि आउनुपर्ने सबैलाई आह्वान रहेको थियो भने उनीद्वारा रचित बाल कविता वाचनले कार्यक्रममा उपस्थित सबै आनन्दित भएका थिए। आजको यस कार्यक्रममा सहभागिता जनाउने मुख्य अतिथि विशिष्ट अतिथिलाई सृजनात्मक वैचारिक मञ्चले मायाको चिनो स्वरूप स्मारक चिन्ह प्रदान गरेको थियो भने नृत्य एवं कविता वाचन गर्ने सहभागीहरूलाई प्रशंसा पत्रद्वारा अभिनन्दन गरियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement