जिल्ला स्तरीय २०९औं भानु जयन्तीमा विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

jj_26

सोरेङः परी प्रकाशन सोरेङ र जिल्ला प्रशासन सोरेङको संयुक्त तत्वावधानमा आयोजना गरिएको अन्तरविद्यालय तर्क प्रतियोगितामा थर्पु उच्चतर माध्यमिक विद्यालय विजय बने। तर्क प्रतियोगितामाको फाइनल कृपाशाल्यन उच्चतर माध्यमिक विद्यालय दरमदिन र थर्पु उच्चतर माध्यमिक विद्यालयबीच सम्पन्न भएको थियो। वर्तमान परिपेक्षमा सामाजिक संजाल युवा पीढीका लागि घातक बन्दैछ भन्ने विषयको पक्षमा दरमदिन स्कूलले तर्क राखेको थियो भने यसको विरुद्धमा थर्पु स्कूलले जोड़दार तर्क पेश गरेको थियो। थर्पु स्कूलले ४ सय ६१ अंक प्राप्त गर्दै विजय बनेको हो।

१३ वटा विद्यालयका एक-एक जना विद्यार्थीहरुले सहभागिता जनाएको अन्तर सरकारी माध्यमिक विद्यालयबीच कविता प्रतियोगितामा प्रथम मङ्सारी स्कूलकी छात्रा अञ्जली छेत्री, दोस्रो टिम्बुरबुङ स्कूलकी छात्रा कुशुमिका शर्मा र तेस्रो स्थान प्राप्त गर्न लुङ्चोक स्कूलका छात्र प्रशान्त छेत्री सफल बने। सहभागिता जनाउने विद्यालयहरुमा टिम्बुरबुङ, देथाङ, रिञ्चेन्पोङ, लुङचोक, चुम्बुङ, सवालीगाउँ गेलिङ, दोदक, पिपले, मङ्सारी, पक्किगाउँ, जुम, तिक्पुर र रुम्बुक विद्यालय सामेल थिए। उक्त प्रतियोगितामा प्रतिभागीहरुले मौलिक वा स्वरचित कविता वाचन अतिरिक्त अन्य कुनै पनि कविको कविता वाचन गर्नसक्ने छुट दिएको थियो।

यसरी नै निम्न माध्यमिक स्तरको रामायण पाठ प्रतियोगितामा मालबाँसे स्कूल प्रमथ बने। यसरी नै बजेक स्कुल दोस्रो र वुडस्टक स्कुल सोमबारे तेस्रो स्थान प्राप्त गर्न सफल रहे। परी प्रकाशन सोरेङ र जिल्ला प्रशासन सोरेङको संयुक्त तत्वावधानमा सोरेङ स्कूलको स्वर्ण जयन्ती रंगशालामा जिल्ला स्तरीय २०९औं भानु जयन्ती विविध कार्यक्रमको साथमा सम्पन्न भयो। कार्यक्रममा उर्जा एवं यातायात विभागका मन्त्री एमएन शेर्पा मुख्य अतिथिको रूपमा उपस्थित रहेको थियो। वहाँको साथमा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ, कार्यक्रमका प्रमुख संरक्षक एवं क्षेत्र विधायक आदित्य गोले, विधायक केएस लेप्चा, परी प्रकाशनका अध्यक्ष एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, शिक्षा विभागका सल्लाहकार एमपी सुब्बा, सोरेङ जिल्लाको जिल्ला पञ्चायतकी अध्यक्ष तिलादेवी गुरुङ, जिल्ला पञ्चायत उपाध्यक्ष चन्द्रवीर कामी, कृषि एवं बागवानी बोर्डका अध्यक्ष सीके राणा आदि उपस्थति थिए।

कार्यक्रममा युवा कवि किशन दाहालद्वारा लिखित पुस्तक ’ए ट्रिब्युट टु आदिकवि भानुभक्त’ र यादव दाहालको ’बतासको लहरले उडायो नेपाली’ नामक पुस्तकको पनि मुख्य अतिथि र विशिष्ट अतिथिको बाहुलीबाट लोकार्पण गरियो। कार्यक्रममा सहप्राध्यापक डा. गीता निरौलाले भानुभक्तको साहित्यिक योगदानबारे व्याख्यान राखिन्। बिहान सोरेङ डाँडा बजारस्थित भानु सालिकमा माल्यार्पण पश्चात् शोभा यात्रा निकालियो। आज सम्पन्न प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने बिजेता विद्यार्थीहरुलाई मुख्य अतिथि र विशिष्ट अतिथिको बाहुलीबाट नगद राशि, ट्रफी र प्रमाणपत्र वितरण गरियो। हेर्न लायक कार्यक्रममा नौमती बाजाको प्रस्तुति बर्मेकले दिएको थियो भने नृत्यको प्रस्तुति जोरथाङ र सोमबारे डान्स एकाडमी साथै टिम्बुरबुङले दिएको थियो। कार्यक्रमलाई परी प्रकाशनका अध्यक्ष एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, विधायक आदित्य गोले र मन्त्री एमएन शेर्पाले पनि छोटकरीमा सम्बोधन राखेका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement