नाम्चीः नाम्ची जिल्लाअन्तर्गत सदामको एकलव्य मोडल रेसिडेन्सियल स्कूलको प्राङ्गणमा आज २०९औं भानु जयन्ती भव्य रूपमा पालन गरियो। स्थानीय भानु जयन्ती आयोजक समितिले आयोजना गरेको यस कार्यक्रममा वरिष्ठ साहित्यकार सीके श्रेष्ठ मुख्य अतिथि रहेका थिए। स्वागत भाषण राख्ने क्रममा आयोजक समितिका प्रमुख संरक्षक तिलक बस्नेतले कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य मितेरी लाउनु जस्तो हराउँदै गएको परम्परा र संस्कृतिलाई जोगाइराख्नु रहेको बताए।
कार्यक्रममा सम्बोधन गर्दै मुख्य अतिथि श्रेष्ठले लिखित कुरा सबै ठिक नहुने भएको कारण लिखित कुरालाई समीक्षात्मक रूपमा हेर्नु पर्ने उल्लेख गरे। उनले अब आउने पीढी प्रश्न गर्ने पीढी हुनुपर्ने कुरामा जोर दिए। उल्लेखनीय छ, कार्यक्रममा मितेरी साइनो विषय प्यानल बहस पनि भएको थियो। यस प्यानल बहसमा साहित्यकार रूद्र पौड्याल, डा. कविता लामा, डा. उदय छेत्री र साहित्यकार प्रविण राई जुमेलीले भाग लिएका थिए भने बहसको सञ्चालन कवि-पत्रकार एनबी घिमिरेले गरेका थिए।
कार्यक्रममा दुईजनाले मीत लगाए। दुई जोडी मीत र मितेनीहरूले चिनो साटा-साट गरे। कार्यक्रममा मल्ली समष्टिका २४ जना साहित्यकारलाई अभिनन्दन पनि गरिएको थियो। कार्यक्रममा एकलव्य मोडल रेसिडेन्सियल स्कूल र स्थानीय ग्राम पञ्चायत एकाईले रामायण पाठ गरेको थियो। यस अवसरमा विद्यार्थीहरूले कविता वाचन, साँस्कृतिक नृत्य आदि पनि प्रस्तुत गरेका थिए।
-हिस