बीरपाडा: अविरल वर्षा र त्रिस्तरीय पञ्चायत चुनावको चटारोबीच अति कम समयको प्रस्तुतिमा ‘हाम्रो समाज’ महिला प्रकोष्ठ , बीरपाडाको आयोजनामा २०९ औं आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती चन्द्रबीर प्रधान ग्रामिण जनपुस्तकालयको सभागृहमा सम्पन्न भएको छ। समाजसेवी सिबी प्रधानको अध्यक्षता साथै कवि अमीर सुब्बाको सञ्चालनमा प्रारम्भमै अतिथिहरुद्वारा आदिकविको प्रतिकृति अघि दीप प्रज्जवलन, खदा र पुष्पार्ण गरेपछि संस्थाका सचिव हर्कु तामाङले स्वागत वक्तव्य राखे। कार्यक्रममा अतिथि कृष्णबहादुर श्रेष्ठ, अनुप कुमार शर्मा, डा लक्षुमाण लिम्बू उपस्थित थिए भने नारी प्रकोष्ठका सचिवा निरु तामाङ, अध्यक्ष पुनम गुरुङ सुब्बा, प्रणिता तामाङ, ममता लामा, अञ्जना राई तामाङ, मनिषा लामा, भगवती प्रधान, शशिला गुरुङ, पुष्पा गुरुङ आदि उपस्थित थिए।
आर्मी पब्लिक स्कुल विन्नागडीको बाह्रौं श्रेणीमा बरुण कुमार छेत्री (बीरपाडा) ले यस वर्ष ९४•७% अंक ल्याएर उतिर्ण गरेको हुँदा उनलाई संस्थाको पक्षबाट सम्वर्द्धना जनाइनुको साथसाथै कार्यक्रममा तेस्रो श्रेणी अध्यनरत् विद्यार्थी मान्यता तामाङले भानुप्रति समर्पित श्रद्धाञ्जली गीत गाइन् भने निरु तामाङ, शनि तामाङद्वयले भानुभक्त बारे छोटों वार्ता प्रस्तुत गरे। भर्खरै समाप्त भएको त्रिस्तरीय पंचायत चुनाव र लगातार परिरहेको झरीको कारण यस वर्ष भव्य तयारी गर्न नसके पनि आगामी वर्ष भव्यताका साथ पालन गर्नेछौं भनि नारी प्रकोष्ठका सचिवा श्रीमती निरु तामाङ सुब्बाले जनाइन्।