दार्जीलिङ: जीटीएद्वारा प्रदान गरिने पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार २०२३ दार्जीलिङका वरिष्ठ पत्रकार मोहन लामालाई प्रदान गरिएको छ। आज जीटीएको सूचना अनि सांस्कृतिक विभागको आयोजनामा दार्जीलिङको भानु भवनमा जीटीए स्तरीय भानु जयन्ती समारोहमा वरिष्ठ पत्रकार मोहन लामालाई उक्त पुरस्कार प्रदान गरिएको हो। दार्जीलिङ प्रेस गिल्डका कोषाध्यक्ष समेत रहेका मोहन लामालाई नेपाली टोपी, शल ओढ़ाएर सम्मान जनाउॅंदै स्मृति चिन्ह, सम्बर्द्धना पत्रसहित नगदराशि प्रदान गरियो।
‘पत्रकारितामा पैसा कमाउन सकिॅंदैन, तर लगनशीलता चाहिन्छ’
गएको २५ वर्षदेखि कार्य गरिरहेका पत्रकार मोहन लामाले पुरस्कार पाउँदा खुशी लागेको बताए। उनले पत्रकारहरूलाई सुझाव दिॅंदै पत्रकारितामा पैसा कमाउन सकिॅंदैन, तर लगनशीलता चाहिन्छ भनी बताए। उनले यो पुरस्कार पनि लगनशीलताको उदाहरण रहेको बताए। भारतीय नेपाली समाजमा आदि पत्रकार मानिएका पाद्री गङ्गाप्रसाद प्रधानले सन् १९०१ देखि सन् १९३२ सम्म लगातार रूपमा ’गोर्खे खबर कागत’को सम्पादन, प्रकाशन गरेर भारतीय नेपाली पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। उनको योगदानलाई सम्मान गर्दै जीटीएले पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। पहिलो पुरस्कार वरिष्ठ पत्रकार गिदोन लेप्चालाई प्रदान गरिएको थियो भने दोस्रो पुरस्कार वरिष्ठ पत्रकार जोएल राईलाई प्रदान गरिएको थियो। यसपालीको तेस्रो पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार मोहन लामालाई प्रदान गरिएको छ।
उल्लेखनीय छ, सन् १९९६ मा सिलगढीबाट प्रकाशित भएको दैनिक समाचारपत्र ‘आजभोलि’मा सह-सम्पादक थिए भने सन् २००१ देखि शुरु भएको ‘हिमालय दर्पण’मा दार्जीलिङबाट विशेष संवाददाता थिए भने यसै समाचारपत्रमा रहेर दार्जीलिङको ब्यूरो चीफको कार्यभार पनि सम्हालेl ‘समय दैनिक’ र ‘स्वर्णभूमि’ दैनिक समाचारपत्रमा पनि दार्जीलिङ प्रमुख रहेर कार्य गरेl आफ्नो सिर्जनात्मक पत्रकारिताद्वारा मोहन लामाले कयौं सामाजिक मुद्दाहरू बारे प्रभावकारी विश्लेषणात्मक समाचारहरू लेखेका छन्l हालमा उनी ‘हिमाल वर्ल्ड’ च्यानलमा दार्जीलिङका प्रमुख साथै कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छन्l