विभिन्न क्षेत्रहरूमा योगदान दिने विशिष्ट व्यक्तिहरूलाई पुरस्कारहरू प्रदान
दार्जिलिङ: गोर्खाल्याणड क्षेत्रीय प्रशासनको अायोजनामा दार्जिलिङको भानु भवनमा जीटीए स्तरीय २०९औं भानु जयन्ती समारोह सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीएको मुख्य कार्यपाल अनित थापा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिहरूमा दार्जिलिङ जिल्ला शासक एंव जीटीएको मुख्य सचिव एस पुनमबालम, दार्जिलिङका पुलिस अधीक्षक प्रवीण प्रकाश, जीटीएको भाइस चेयरम्यान राजेस चौहान, सूचना अनि सांस्कृतिक विभाग जीटीएको कार्यकारी सभासद अनोश थापा लगायत अन्यहरू उपस्थित रहेका थिए। यसै कार्यक्रममा जीटीएले प्रत्येक वर्ष प्रदान गर्ने विभिन्न पुरस्कारहरू प्रदान गरिएको छ।

उक्त पुरस्कारहरूमा साहित्य विधामा बिजनबारीका साहित्यकार एम पथिकलाई भानुभक्त स्मृति पुरस्कारले पुरस्कृत गरियो भने लोक संगीत विधामा मास्टर मित्रसेन स्मृति पुरस्कार प्रसिध्द मादलवादक अनि मारूनी नृत्य कलाकार सन्तोष पोर्तेललाई प्रदान गरिएको छ। त्यसरी नै पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिने दार्जिलिङका वरिष्ठ पत्रकार मोहन लामालाई यस वर्षको पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पुरस्कार प्रदान गरिएको छ। त्यस्तै प्रकारले नाट्य विधामा प्रदान गरिने डीबी परियार स्मृति पुरस्कार खरसाङ निवासी वरिष्ठ साहित्यकार एंव नाटककार पूर्ण गुरुङ निरुपमलाई प्रदान गरिएको छ। त्यसरी नै गत वर्ष २०२२ अगमसिंह गिरी पुरस्कार डा गोकुल सिन्हालाई प्रदान गरिएको छ।