खरसाङ: गोर्खा जनपुस्ताकालय खरसाङ र सूचना अनि सांस्कृतिक विभाग जीटीएको संयुक्त आयोजनामा खरसाङमा आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती पालन गरिएको छ। भानु जयन्ती समारोहको पूर्वार्ध्दको कार्यक्रम खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको आदि कवि भानुभक्त आचार्यको सालिगमा श्रध्दाञ्जली कार्यक्रम सम्पन्न गरिएको थियो। बिहान सम्पन्न उक्त श्रध्दाञ्जली कार्यक्रम गोर्खा जनपुस्ताकालय खरसाङको पूर्व अध्यक्ष एंव समाजसेवी तिलक शर्माको अध्यक्षता र वरिष्ठ नारी स्रष्टा विन्ध्या सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको शुरुमा आदि कवि भानुभक्त अाचार्यको तस्वीरमा माल्यार्पण साथै धुप दीप प्रज्वलन गरी आदि कवि भानुभक्तको सालिगमा सामुहिक रूपमा श्रध्दाञ्जली कार्यक्रम सम्पन्न गरिएको थियो। यस कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग खरसाङद्वारा रामायण पाठ गरिएको थियो भने तिलक शर्माले आफ्नो अध्यक्षीय सम्बोधन राखेका थिए। त्यसरी नै उत्तरार्ध्दको कार्यक्रम खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा स्वागत सम्भाषण गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीले राखेका थिए भने सञ्चालन गोमा सुब्बा, रचना अनाकार र सबिना गिरीले गरेका थिए। उक्त कार्यक्रममा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूलाई लिएर प्रतियोगितामूलक कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग खरसाङको प्रभारी गोबिन छेत्रीले वक्तव्य राखेका थिए। त्यसरी नै सूचना अनि सांस्कृतिक विभाग खरसाङको टोलीले रामायण पाठ, श्रध्दाञ्जली गीत, नृत्य प्रस्तुत गरेका थिए भने एचएस बस्नेतले रामायण पाठ गरेका थिए। यसै कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरूलाई लिएर रामायण पाठ प्रतियोगिता साथै आदि कवि भानुभक्त आचार्यद्वारा लिखित फुटकर कविता आवृत्ति प्रतियोगिता सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा निर्णायकको रुपमा प्राध्यापक गङ्गाप्रसाद भट्टराई, लोकनाथ उपाध्याय चापागाईं र मानसिहं मोक्तान आदि रहेका थिए।

कार्यक्रममा मुख्य अतिथिको सम्भाषण राख्दै नारी स्रष्टा विन्ध्या सुब्बाले आदि कवि भानुभक्त आचार्य निडर थिए अनि जेलमा बसेर पनि कविता लेखे भनी बताइन्। उनले दार्जिलिङमा प्रथमपल्ट भानु जयन्ती समारोह हितकारी सम्मेलनले प्रथमपल्ट सन् १९४५ मा पालन गरिएको जानकारी गराइन्। खरसाङमा सम्पन्न भानु जयन्ती विषयमा गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।